विवाहपञ्चमीको अवसरमा आज प्रदेश २ मा सार्वजनिक बिदा

जनकपुरधाम, २२ मंसिर । प्रदेश २ सरकारले विवाहपञ्चमीको अवसरमा आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।
प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७८ साल बैशाख १ गतेको निर्णय अनुसार नै आज सार्वजनिक बिदा दिइएको हो ।
शुक्रवारबाट सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज मुख्यदिन वैवाहिक कार्यक्रम आयोजना हुनेछ ।
यस वर्ष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार जनकपुरधाम नगर दर्शन, शनिबार फूलबारी लीला, आइतबर धनुष यज्ञ, सोमबार तिलकोत्सव र मंगलबार मटकोर विधि मनाइएको छ भने आज स्वयम्वर तथा वैवाहिक कार्यक्रमको आयोजना हुँदैछ ।
बिहीबार रामकलेवाको आयोजना गरिएसँगै यसबर्षको विवाहपञ्चमी महोत्सव समापन हुनेछ ।