जनकपुरधाम, २१ मंसिर । साताव्यापी रुपमा मनाइने विवाहपञ्चमी महोत्सवको पाँचौं दिन आज भगवान श्री राम र माता जानकीको मटकोर विधि सम्पन्न भईसकेको छ । भोली बुधबार यहाँस्थित रंगभूमी मैदानमा स्वयम्बर विधि मनाइनेछ भने जानकी मन्दिरको प्रांगनमा विवाहोत्सव विधिको आयोजना गरिने भएको छ ।

विवाहपञ्चमीमा एकातर्फ जानकी मन्दिरलाई दुल्ही झैं श्रृंगारिएको छ भने अर्कोतर्फ विवाहको प्रत्यक्ष साक्षी रहेकोे रंगभूमि मैदान महोत्सवमा समेत उपेक्षित बनेको छ । रंगभूमि मैदान माता सीताको स्वयम्बरसंग सम्बन्धित मुख्य थलो हो ।

यही मैदानमा विवाहपञ्चमी महोत्सवमा प्रत्येक वर्ष माता सीता र भगवान रामको विवाह अन्तर्गत स्वयम्बर कार्यक्रम सम्पन्न गरिन्छ ।जानकी मन्दिर तथा राम मन्दिरको डोला सहित जनकपुरधामका मठमन्दिरका डोलाहरु यही मैदानमा स्वयम्बरका दिन पुग्ने गर्छन् ।

नगरक्षेत्रमा भारतलगायतका देशहरुबाट हजारौंको संख्यामा आउने श्रद्धालुभक्तजनहरु समेत रंगभूमी मैदानमै वास बस्छन् । तर धार्मिक तथा सांस्कृतिक महत्वको यो मैदान अहिले पनि कुरुप नै देखिन्छ । मैदानको चारैतर्फ फोहोरै फोहोरको डंगुर थुप्रिएको छ भने आधा भाग हिलाम्य अवस्थामा छ ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलगायत अन्य केही निकायका प्रतिनिधिहरुले केही दिनअघि मैदानको सरसफाइको नाममा हातमा झाडु लिएर विभिन्न पोजका तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । तर, वास्तविकता भने बेग्लै देखिन्छ ।

रंगभूमी मैदानलाई न सरसफाइ गरिएको छ, न त श्रद्धालुहरुको वास तथा शौचका लागि शौचालयको व्यवस्था नै गरेको देखिन्छ । रंगभूमी मैदानमा श्रद्धालुहरुको वासका लागि भन्दै प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले एउटा पण्डाल मात्रै ठड्याएको देखिन्छ ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका निर्देशक बलराम ठाकुरले रंगभूमि मैदान कसको क्षेत्राधिकारमा पर्ने विषयमा स्पष्ट नरहेकोले त्यस तर्फ आफूहरुले चासो नलिएको बताए । यद्यपि विवाहपञ्चमी महोत्सवको समय रहेकाले त्यहाँ बृहत्तरले खानेपानीको व्यवस्था गरेको जानकारी दिए । ठाकुरले बृहत्तरसंग बजेटको अभाव रहेकोले पनि चाहे जति गर्न नसकेको स्वीकार गरे ।

उनले भने,‘नेपाल सरकारबाट वर्षभरी चाडवाडको समयमा खर्च गर्नका लागि हामीलाई जम्मा १ लाख रुपैयाँ छुट्याइएको छ, त्यसमा पनि विवाहपञ्चमीमा खर्च गर्नका लागि २५ हजार रुपैयाँ मात्रै छ, त्यसले के हुन्छ । हामीले गर्न चाहेपनि जनकपुरधाम उपमहानगरपालिकाले पटक पटक हस्तक्षेप गर्दै आईरहेको छ ।’

यता, उपमहानगरका उपप्रमुख रिता मिश्रले रंगभूमि मैदानको संरक्षण गर्ने दायित्व उपमहानगरको रहेपनि यसको रेखदेख मुख्य रुपमा बृहत्तरले नै गर्दै आएको बताइन् । उनले संघ सरकार र प्रदेश सरकार यस मैदानप्रति अनुदार भएकै कारण रंगभूमि मैदानको दुर्दसा भएको आरोप लगाइन् ।

एक अर्कालाई दोषारोपणमै विभिन्न निकायहरु व्यस्त भएका कारण रंगभूमि मैदानको यो अवस्था आएको स्थानीयको भनाई छ । सो मैदान व्यवस्थित हुँदा स्थानीय युवाहरु त्यहाँ पुगेर बिहान बेलुका खेलकुदको अभ्यास गर्ने गर्थे । तर अहिले आएर मैदानमा जताततै फोहोर, घाँस, खाल्डा खुल्डी भएकाले खेलको अभ्यास गर्न नसकिरहेको जनकपुरधामका क्रिकेट खेलाडी गुड्डु पाण्डेले बताए ।

कुनै समय जनकपुरधामको बीच भागमा पर्ने यो मैदानले पूरै नगरको शोभा बढाउने गथ्र्यो । विभिन्न धार्मिक प्रयोजनदेखि खेलकुदसम्बन्धी गतिविधि सञ्चालन गर्न बाह्रबिघा मैदानले जनकपुरधामलाई सघाउँदै आइरहेको छ । तर आज सो मैदान आफै आफ्नो अस्तित्व खोजिरहेको छ । धार्मिक र सांस्कृतिक महत्व बोकेको जनकपुरधामस्थित रंगभूमि मैदान संरक्षणको अभावमा कुरुप बनेको छ ।