विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज मटकोर विधि सम्पन्न

जनकपुरधाम, २१ मंसिर । साताव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज मटकोर विधि सम्पन्न भएको छ ।
जनकपुरधामको धार्मिक तथा एतिहासिक गंगासागरमा आज मिथिलाको परम्परा अनुसार माता जानकीको मटकोर गरिएको हो ।
मटकोरमा प्रसादको रुपमा चना र चामल वितरण गरिन्छ । विवाहको शुद्धिकरणका लागि मटकोर गर्ने परम्परा छ ।
त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनास्वरुप परापूर्वकालदेखि नै यहाँ धुमधामसँग विवाहपञ्चमी महोत्वस मनाउने गरिन्छ ।
मर्यादा पुरुषोतम श्रीराम र आर्दश नारी सीताबीच भएको विवाहको स्मरणमा प्रत्यक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मिथिला नगरी जनकपुरधाममा विवाह महोत्सव आयोजना गरिन्छ ।
यस वर्ष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार जनकपुरधाम नगर दर्शन, शनिबार फूलबारी लीला, आइतबार धनुष यज्ञ र सोमबार तिलकोत्सव विधि मनाइएको थियो ।
त्यस्तै, आज मटकोर, बुधबार स्वयंवर तथा विवाह र बिहीबार रामकलेवा विधिको कार्यक्रम आयोजना गरिने भएको छ ।
यस वर्ष विवाहपञ्चमीमा भारतको सिमावर्ती क्षेत्र र नेपालको विभिन्न स्थानबाट लाखौँ श्रद्धालु सहभागी हुने अनुमान छ । रामजानकीको स्वयंवर, धनुष यज्ञ, वैवाहिक कार्यक्रममा सहभागि भई पूजाअर्चना गर्नाले पारिवारिक सुखशान्ति र हरेक दुःखबाट मुक्ति हुने जनविश्वास रहेको छ ।