महोत्तरी, २१ मंसिर । महोत्तरीमा मंगलबार एक पुरुषको शव फेला परेको छ ।

जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर–७ अन्कार घर भएका अन्दाजी ४२ वर्षिय रामश्रीष्ठ यादवको शव फेला परेको हो ।

यादवको शव एकडारा गाउँपालिका–५ गेना बथनाहास्थित ईटाभट्टा नजिकैको पोखरीमा भेटेको प्रहरीले जनाएको छ ।

यादवको मृत्यु, हत्या वा दुर्घटना के हो भन्ने बिषय अहिले खुल्न नसकेको र पोष्टमार्टमको रिपोर्टपछिमात्र केहि भन्न सकिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक दिनेश आचार्यले जानकारी दिए ।

गत शुक्रवार शसस्त्र प्रहरीले १०१ किलो गाँजा सहित तिनजनालाई नियन्त्रणमा लिएकोबेला यादव पनि गाँजा ओसारपसार गर्नेहरुसँग शसस्त्र प्रहरीको घम्साघम्सी भईरहँदा सोहि स्थानमा थिए । उनी त्यसैदिनदेखि सम्पर्कविहीन भएको जलेश्वर नगरपालिका–७ का वडाध्यक्ष रामछविला यादवले बताए ।

उनले मृतक यादवको खोजी सोहि दिनदेखि हुँदै आएकोमा उनको शव भेटिएपछि आफुहरु सशंकित भएको तथा घटनाको सुक्ष्म छानविन हुनु पर्ने माग गरे ।

मृतक यादवको शव पोष्टमार्टमका लागि जलेश्वर अस्पताल पठाइएको एसपी आचार्यले बताए ।