जनकपुरधाम, २१ मंसिर । साताव्यापी रुपमा मनाइने विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै आजदेखि तिन दिनसम्मका लागि जनकपुरधामका विद्यालयहरु बन्द गरिएको छ ।

विवाहपञ्चमीमा हुने भीडभाडलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्रका सरकारी तथा निजि विद्यालयमा मंसिर २१, २२ र २३ गते सार्वजनिक विदा दिने घोषणा गरेको थियो ।

जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, यूवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले गत आइतबार नै एक सूचना जारी गर्दै तीनदिनका लागि विदा घोषणा गरेका थिए ।

विवाहपञ्चमी महोत्सवमा आउने श्रद्धालुभक्तजनलाई आवश्यक सहयोग गरिदिन समेत उपमहानगरले अपिल गरेको छ ।

साताव्यापी विवाहपञ्चमी महोत्सवको चौथो दिन आज राम र जानकीको मटकोर विधि मनाइँदैछ । भोलि स्वयम्बर र विवाहको कार्यक्रम हुने छ भने पर्सी बिहीबार रामकलेवा गरी विवाहपञ्चमी महोत्सव समापन हुने छ ।

विवाहपञ्चमी अवलोकन गर्न देशका विभिन्न भाग तथा छिमेकी देश भारतबाटसमेत तीर्थालुहरु जनकपुरधाम आउने क्रम जारी रहेको छ ।