हेटौंडा, २० मंसिर । नेकपा एमालेका सचिव योगेश भट्टराईले गैँडा र एमाले प्रवृत्ति समान रहेको भन्दै जाइलाग्नेलाई नछाड्ने चेतावनी दिएका छन् ।

प्रेस चौतारी नेपाल चितवनले सोमबार गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले एमालेलाई जिस्काए परिणाम राम्रो नआउने चेतावनी दिँदै जिस्काउनेलाई लखेट्ने धम्कीसमेत दिए ।

चितवनमा हालै सम्पन्न पार्टीको १०औँ महाधिवेशनको मस्कटमा एकसिंगे गैँडा राखेकोमा भएको आलोचना र टिप्पणीलाई लक्षित गर्दै उनले भने, ‘एमाले र गैँडामा केही समानता भएरै गैँडा छानेको हो । गैँडालाई जिस्क्याउनुहुन्छ, हिर्काउन थाल्नुहुन्छ, त्यसले तपाईंलाई छोड्दैन, लखेट्छ, एमाले पनि त्यस्तै छ । जब एमालेमाथि जाइलाग्नुहुन्छ, तब एमालेले छोड्दैन ।’

एमालेको शक्ति प्रदर्शनलाई एमालेले नै बाहेक अरूले तोड्न नसक्ने दाबी गरेका उनले महाधिवेशनबाट एमाले एकताबद्ध भएर अघि बढेको बताए ।