जनकपुरधाम, २० मंसिर । साताव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको चौथो दिन आज तिलकोत्सव विधि सम्पन्न भएको छ ।

तिलकोत्सवको अवसरमा २ सय ५१ पाहुर लिएर जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास राम मन्दिर पुगेका थिए ।

राम मन्दिरको प्रांगनमा आयोजित तिलकोत्सव समारोहमा अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राममन्दिरका महन्थ राम गिरी र जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासबिच सम्धी मिलन गरिएको छ ।

यसअघि विवाहपञ्चमी महोत्सवअन्तर्गत आइतबार जानकी मन्दिरमा बनाईएको मञ्चमा धनुष तोडिएको थियो । त्रेतायुगमा भगवान रामले धनुष तोडेको स्मरणमा हरेक वर्ष विवाहपञ्चमीको समयमा जनकपुरधाममा धनुष यज्ञ हुन्छ ।

त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनास्वरुप परापूर्वकालदेखि नै यहाँ धुमधामसँग विवाहपञ्चमी महोत्वस मनाउने गरिन्छ ।

मर्यादा पुरुषोतम श्रीराम र आर्दश नारी सीताबीच भएको विवाहको स्मरणमा प्रत्यक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मिथिला नगरी जनकपुरधाममा विवाह महोत्सव आयोजना गरिन्छ ।

यस वर्ष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार जनकपुरधाम नगर दर्शन, शनिबार फूलबारी लीला, आइतबार धनुष यज्ञ र आज तिलकोत्सव विधि मनाइएको छ ।

त्यस्तै, मंगलबार मटकोर, बुधबार स्वयंवर तथा विवाह र बिहीबार रामकलेवा विधिको कार्यक्रम आयोजना गरिने भएको छ ।

यस वर्ष विवाहपञ्चमीमा भारतको सिमावर्ती क्षेत्र र नेपालको विभिन्न स्थानबाट लाखौँ श्रद्धालु सहभागी हुने अनुमान छ । रामजानकीको स्वयंवर, धनुष यज्ञ, वैवाहिक कार्यक्रममा सहभागि भई पूजाअर्चना गर्नाले पारिवारिक सुखशान्ति र हरेक दुःखबाट मुक्ति हुने जनविश्वास रहेको छ ।