जनकपुरधाम, १९ मंसिर । नेपाली काँग्रेस महोत्तरी क्षेत्र नम्बर–३ मा कुनै विवाद नभएको पार्टीका पूर्वकेन्द्रीय सदस्य रामचन्द्र तिवारीले दावी गरेका छन् ।

आइतबार जनकपुरधाममा एक पत्रकार सम्मेलनको आयोजना गर्दै तिवारीले महोत्तरी क्षेत्र नम्बर–३ को क्षेत्रिय अधिवेशन विधिसम्मत तरिकाले सम्पन्न भएको दावी गरेका हुन् ।

तिवारीले लोकतान्त्रिक विधि र प्रक्रियाबाट अधिवेशन सम्पन्न भएको दावी गर्दै केही व्यक्तिले भ्रम मात्र सिर्जना गरेको जिकिरसमेत गरे ।
तिवारीले भने,‘निर्वाचन अधिकृत धीरेन्द्र मण्डल स्वयंले सम्पूर्ण पदाधिकारीको प्रमाणपत्र वितरण गरेका थिए । यसमा धाँधलीको कुरा कहाँबाट आयो ?’

निर्वाचन अधिकृत मण्डललाई अर्को पक्षले नै पछि अपहरण गरेर वेपत्ता बनाएको र अहिले उनको मोवाईल स्वीच अफ हुनुका साथै भेटघाट पनि नभएको तिवारीले बताए ।

यता, महोत्तरी क्षेत्र नम्बर–३ मा अवैधानिक तरिकाले आफुलाइ अपहरण गरि प्रमाणपत्र लिएकोले त्यसलाइ रद्द गर्न माग गर्दै मतदान अधिकृत मण्डलले शनिबार राजीनामा दिएका थिए ।

मंसिर १५ गते सहमतिमार्फत क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधि चयन गर्ने प्रयास गरिए पनि त्यसो हुन नसकेपछि तिवारीलाई अधिवेशन सम्पन्न गर्ने जिम्मा दिइएको थियो ।

यबैबिच, तिवारीले चुनावभन्दा पनि क्षेत्रीय सभापतिमा राघवेन्द्र झालाई सर्वसम्मत सभापति बनाउनु पर्ने अडान राखेको तर विमलेन्द्र निकट नेताहरूले अस्वीकार गरेपछि तिवारी पक्षले टोले गुण्डा परिचालन गरेको नेपाली काँग्रेस महोत्तरीका सचिव शम्भुनारायण पाठकको आरोप छ ।

यता, नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १४औं महाधिवेशन अन्तर्गत महोत्तरी क्षेत्र नम्बर–३ को क्षेत्रीय कार्यसमितिलाई वितरण गरिएका सम्पूर्ण प्रमाणपत्रहरु रद्द गरेको छ । निर्वाचन सम्बन्धमा समितिको बैठकले यस्तो निर्णय गरेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए ।

सचिव श्रेष्ठले जारी गरेको विज्ञप्तिमा क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको निर्वाचन तत्काल गर्न निर्देशनसमेत दिइएको छ ।