विवाहपञ्चमीको अवसरमा प्रदेश २ मा बुधबार सार्वजनिक विदा, विद्यालयहरु पनि तीन दिन बन्द रहने

जनकपुरधाम, १९ मंसिर । प्रदेश २ सरकारले विवाहपञ्चमीको अवसरमा बुधबार सार्वजनिक विदा दिएको छ ।
प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७८ साल बैशाख १ गतेको निर्णय अनुसार नै बुधवार सार्वजनिक विदा दिइएको हो ।
शुक्रवारबाट सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत बुधवार मुख्यदिन वैवाहिक कार्यक्रम आयोजना हुनेछ ।
यसैबिच, जनकपुरधाम उपमहानगरपालिकालेसमेत विवाहपञ्चमीको अवसरमा नगरभित्रका सरकारी तथा निजि विद्यालयमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको उपलक्ष्यमा मंगलवारदेखि बिहिवारसम्म शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय भएको जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा, यूवा तथा खेलकुद महाशाखाका प्रमुख मेहिलाल यादवले जानकारी दिए ।
आइतबार शाखा प्रमुख यादवले एक सूचना जारी गर्दै विवाहपञ्चमीको मेलाका कारण हुने भीडभाडलाई मध्यनजर गर्दै पालिका भित्रका सामुदायिक, निजि विद्यालय तथा शिक्षण संस्थाहरुलाई मंसिर २१ गते देखि २३ गतेसम्म बन्द गर्ने निर्णय भएको जनाएका छन् ।
यस वर्ष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार जनकपुरधाम नगर दर्शन र शनिबार फूलबारी लीला मनाइएको छ भने आइतबार धनुष यज्ञ मनाइँदैछ ।
त्यस्तै, २० गते सोमबार तिलकोत्सव, २१ गते मंगलबार मटकोर, २२ गते बुधबार स्वयंवर तथा विवाह र २३ गते बिहीबार रामकलेवा विधिको कार्यक्रम आयोजना गरिने भएको छ ।