प्रदेश २: कांग्रेसको अधिवेशन स्थगित हुने सम्भावना

जनकपुरधाम, १९ मंसिर । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन स्थगित हुने सम्भावना बढेको छ ।
अधिवेशन उद्घाटन भएको ४ दिन बितिसक्दासमेत आठवटै जिल्लाको मतदाता नामावली आउन नसकेकोले निर्वाचन प्रक्रिया सुरु हुन नसकेको निर्वाचन समितिले जनाएको छ ।
प्रदेश २ का कयौँ जिल्लामा विवाद कायमै रहेको देखिएपछि अधिवेशन नै स्थगित हुने सम्भावना बढेको हो ।
प्रदेशका ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्रहरु छन् । जसमध्ये सर्लाही, सप्तरी र रौतहटबाट मतदाताहरुको नाम आउन नसकेको समितिले जनाएको छ । सर्लाही जिल्लाको कयौँ वडामै अधिवेशन बाधित छन् ।
जिल्लाको निर्वाचन समितिहरुबाट प्राप्त हुनुपर्ने मतदाता नामावली अझै प्राप्त हुन नसकेकोले पूर्वघोषित निर्वाचन तालिका अनुसार प्रक्रिया अगाडी बढाउन नसकिएको प्रदेश २ का संयोजक रमेश रिजालले बताए ।
उनले भने,‘निर्वाचन तालिका अनुसार मंसिर १८ गते निर्वाचन गर्नुपर्नेमा त्यो हुन सकेन, मतदाता नामावली ३ जिल्लाबाट आउन सकेको छैन, त्यसैले सम्भावना पनि न्यून लागिरहेको छ ।’
मतदाताहरुको नामावली आउन नसकेकोले मनोनयन पत्र दर्ता गर्ने कार्य स्थगित गर्नु परेको रजिष्ट्रेशन संयोजक विशेश्वर यादवले जानकारी दिए । रौतहट र सप्तरी जिल्लामा प्रतिनिधि छनोट गरिएपनि नामावली प्राप्त हुन नसकेको यादवले जनाए ।
स्रोतका अनुसार आज निर्वाचन प्रक्रिया अगाडी बढ्न नसके महाधिवेशन पछि नै प्रदेश २ को अधिवेशन गर्ने तयारी समेत गरिएको छ ।