विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइयो

जनकपुरधाम, १९ मंसिर । सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइएको छ।
धनुष यज्ञ हेर्न जानकी मन्दिर परिसरमा आइतबार साँझ हजारौंको संख्यामा श्रद्धालुहरुको उपस्थिति रहेको थियो ।
त्रेतायुगमा जस्तै आजको दिन धनुष यज्ञमा भगवान रामले सीतासंग विवाहको लागि भगवान पर्शुरामले मिथिलाका राजा जनकलाई दिएको धनुष भाँच्ने गरिन्छ । सोहिअनुरुप जानकी मन्दिर परिसरमा पनि एक बालकलाई भगवान रामको प्रतिकात्मक बनाएर धनुष भाँच्न लगाइएको हो ।
मिथिलाका राजा जनकले धनुष उठाएर धनुषमा वाण छोड्ने महाशक्तिशालीसँग मात्रै सीताको विवाह गर्ने निधोका साथ गरिएको धनुष यज्ञमा सयौं शक्तिशाली र वलबानहरुले धनुष हल्लाउन सकेनन् । अन्त्यमा, दशरथ पुत्र श्रीरामले यज्ञमा राखिएको धनुषलाई सहजै उठाएर वाण हान्न खोजेपछि तीन टुक्रा भएको थियो । तत्कालीन त्रेतायुगमा धनुष भाँचेर तीन टुक्रामध्ये एक आकाश, एक पाताल धनुषाधाम र एक भारतको गिरिजास्थान गएको धार्मिक विश्वास छ ।
त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनास्वरुप परापूर्वकालदेखि नै यहाँ धुमधामसँग विवाहपञ्चमी महोत्वस मनाउने गरिन्छ ।
मर्यादा पुरुषोतम श्रीराम र आर्दश नारी सीताबीच भएको विवाहको स्मरणमा प्रत्यक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मिथिला नगरी जनकपुरधाममा विवाह महोत्सव आयोजना गरिन्छ ।
यस वर्ष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार जनकपुरधाम नगर दर्शन र शनिबार फूलबारी लीला मनाइएको छ भने आज आइतबार धनुष यज्ञ मनाउन लागिएको छ ।
त्यस्तै, २० गते सोमबार तिलकोत्सव, २१ गते मंगलबार मटकोर, २२ गते बुधबार स्वयंवर तथा विवाह र २३ गते बिहीबार रामकलेवा विधिको कार्यक्रम आयोजना गरिने भएको छ ।
यस वर्ष विवाहपञ्चमीमा भारतको सिमावर्ती क्षेत्र र नेपालको विभिन्न स्थानबाट लाखौँ श्रद्धालु सहभागी हुने अनुमान छ । रामजानकीको स्वयंवर, धनुष यज्ञ, वैवाहिक कार्यक्रममा सहभागि भई पूजाअर्चना गर्नाले पारिवारिक सुखशान्ति र हरेक दुःखबाट मुक्ति हुने जनविश्वास रहेको छ ।