राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित

काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वी कमल थापालाई पराजित गरेका हुन् ।
आइतबार बिहान भएको मतगणना सकिँदा लिङ्देन विजयी भएका हुन् । ५० मत गन्न बाँकी छँदा २०० मतको अग्रता लिङदेनको भएपछि थापाले पनि बधाई दिएका थिए । उनले लिङदेनसँग पराजय स्वीकारे ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना ।’
लिङ्देन २०७४ मा भएको संघीय निर्वाचनमा राप्रपाबाट निर्वाचित एक्ला सांसद पनि हुन् । उनी एकीकरण पूर्व थापा नेतृत्वको पार्टीमा आबद्ध थिए ।
पुर्ख्यौली घर पाँचथर भएका उनी झापामा बसोबास गर्छन् । उनै नेताले राप्रपाको स्थापनाकालदेखि अध्यक्ष भएका थापालाई पराजित गरे ।
पराजयपछि थापाले भनेका छन्, ‘प्रतिकूल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरूमा आभारी छु । पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु ।’