राप्रपा पदाधिकारीमा कमल थापा पक्षकै वर्चश्व

काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारीमा अध्यक्षमा पराजित भएका कमल थापा पक्षकै वर्चश्व देखिएको छ । उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधर उम्मेदवार विजयी भएका छन् ।
खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी भएका छन् । उनी दुवै प्यानलबाट समेटिएका थिए । जसले गर्दा उनले सर्वाधिक २ हजार ५२१ भोट ल्याए ।
त्यस्तै, अर्का उपाध्यक्षमा थापा प्यानलकै बुद्धिमान तामाङ विजयी भएका छन् । उनले १ हजार ९४४ भोट ल्याए । त्यस्तै, थापा प्यानलकै ध्रुव्रबहादुर प्रधानले १ हजार ८१४ मत ल्याउँदै उपाध्यक्षमा विजयी भएका छन् ।
महिला उपाध्यक्षमा पनि थापा प्यानलकै रोशन कार्की १ हजार ६८९ मत ल्याएर विजयी भएकी छन् । महामन्त्रीका प्रतिस्पर्धी लिङ्देन पक्षका धवलशम्शेर राणा २ हजार २२१ भोट ल्याएर विजयी भएका छन् ।
अर्को महामन्त्रीमा थापा पक्षकै भुवन पाठकले १ हजार ८०५ मत प्राप्त गरे । महिला महामन्त्रीतर्फ थापा समूहकी कुन्ती शाहीले २ हजार ८ मत ल्याएर विजयी हासिल गरेकी छन् ।
लिङ्देन पक्षबाट महिला महामन्त्रीकी उम्मेद्वार रेखा थापा भने पराजित भएकी छन् । उनले १ हजार ६४० मत ल्याइन् ।