दैनिक २ लाख जनालाई कोरोना विरुद्धको खोप लगाउने सरकारको तयारी

काठमाडौं, १८ मंसिर । नेपाल सरकारले दैनिक २ लाख जनालाई कोभिड–१९ विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ ।
यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले विदेशबाट नियमित खोप आउन थालेपछि खोप आवश्यक पर्ने सबैलाई लगाउने जनाएको छ । मन्त्रिपरिषद्को मङ्सिर १३ गते बसेको बैठकले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड–१९ खोप उपलब्ध गराउने निर्णय गरेको थियो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले दैनिक २ लाख जनालाई खोप लगाउने गरी आवश्यक सबै तयारी पूरा भएको जानकारी दिए ।
उनले सर्वसाधारणमा कोभिड–१९ विरुद्धको खोप पु¥याउनका लागि नियमित सञ्चालन हुने खोप केन्द्रबाट नै खोप लगाइने बताए । उनका अनुसार अहिलेसम्म नेपालमा २ करोड ७३ लाख ५६ हजार ५३० मात्रा खोप आइसकेको र ३ करोड ५० लाख खोप आउने क्रममा छ ।
अहिलेसम्म १ करोड ८८ लाख ६२ हजार २१६ जनाले खोप लगाइसकेका छन् । तीमध्ये १ करोड २ लाख ४८ हजार ३६९ पहिलो मात्रा र ८६ लाख १३ हजार ८४७ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् । कूल जनसंख्यामध्ये ३३.७ प्रतिशतले पहिलो मात्रा र २८.४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।