चितवन राजनीतिक कुरूक्षेत्रमा परिणत भएको प्रचण्डको टिप्पणी

हेटौंडा, १८ मंसिर । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन राजनीतिक कुरूक्षेत्रमा परिणत भएको बताएका छन् ।
प्रेस सेन्टरको चौथो राष्ट्रिय सम्मेलनको शनिबार चितवनमा उद्घाटन गर्दै उनले आफूलाई हेरेर सबैले चितवनतिर नजर लगाएको बताएका हुन् ।
उनले अहिले प्रचण्ड मन पराउने र नपराउने दुवै पक्षलाई चितवनले आकर्षित गरेको बताए । ’चितवन कुरूक्षेत्र बन्दै छ । म भएकाले कसैले माया गरेर, कसैले रिस गरेर चितवनमा नजर लगाएका छन’ उनले भने ।
एमालेको महाधिवेशनलाई कुम्भमेलाको संज्ञा दिँदै उनले त्यो सम्पूर्ण रूपमा असफल भएको दावी गरे । ’अस्तिको कुम्भ मेला प्रतिगमनलाई बलियो बनाउन भएको थियो तर त्यो असफल भएको छ । त्यो पार्टी मण्डलेहरूको मोर्चामा पतन भएको छ’ उनले भने ।