जनकपुरधाम, १८ मंसिर । सप्ताहव्यापी रुपमा मनाइने विश्व प्रसिद्ध रामजानकी विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लीला मनाइएको छ ।

फूलबारी लीलामा फुलबारीमा भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा एक जोडी बालबालिकालाई विवाहमण्डप प्रांगणमा रहेको फूलबारीमा घुमाइन्छ ।

त्रेतायुगमा भगवान राम र लक्ष्मण जनकपुरधाम आएको बेला फूलबारीमा घुम्न जाँदा सखीसहेलीसंग फूल टिप्न आएकी जानकीसंग पहिलो भेट भएको धार्मिक विश्वास रहेको छ ।

सोहि अनुसार विवाहपञ्चमी महोत्सवको दोस्रो दिन फूलबारीमा घुमाउँदै राम लक्ष्मण र सीताको भेटघाट गराउने गरिन्छ ।

त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनास्वरुप परापूर्वकालदेखि नै यहाँ धुमधामसँग विवाहपञ्चमी महोत्वस मनाउने गरिन्छ ।

मर्यादा पुरुषोतम श्रीराम र आर्दश नारी सीताबीच भएको विवाहको स्मरणमा प्रत्यक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मिथिला नगरी जनकपुरधाममा विवाह महोत्सव आयोजना गरिन्छ ।

यस वर्ष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार जनकपुरधाम नगर दर्शन, आज शनिबार फूलबारी लीला, १९ गते आइतबार धनुष यज्ञ, २० गते सोमबार तिलकोत्सव, २१ गते मंगलबार मटकोर, २२ गते बुधबार स्वयंवर तथा विवाह र २३ गते बिहीबार रामकलेवा विधिको कार्यक्रम आयोजना गरिन लागिएको हो ।

यस वर्ष विवाहपञ्चमीमा भारतको सिमावर्ती क्षेत्र र नेपालको विभिन्न स्थानबाट लाखौँ श्रद्धालु सहभागी हुने अनुमान छ । रामजानकीको स्वयंवर, धनुष यज्ञ, वैवाहिक कार्यक्रममा सहभागि भई पूजाअर्चना गर्नाले पारिवारिक सुखशान्ति र हरेक दुःखबाट मुक्ति हुने जनविश्वास रहेको छ ।

तस्बिरहरु: जयन्त ठाकुर