जनकपुरधाम, १८ मंसिर । नेपाली कांग्रेस महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ को क्षेत्रीय अधिवेशन गराउने जिम्मा पाएका मतदान अधिकृतले राजीनामा दिएका छन् ।

महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा अवैधानिक तरिकाले आफुलाइ अपहरण गरि प्रमाणपत्र लिएकोले त्यसलाइ रद्द गर्न माँग गर्दै मतदान अधिकृत धिरेन्द्र मण्डलले राजीनामा दिएका हुन् ।

गत मंसिर १५ गते सहमतिमार्फत क्षेत्रीय अधिवेशन गर्ने सहमित भएपनि महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशन अन्तर्गत बन्दसत्र स्थगित गरिएको थियो । बन्द सत्रको क्रममा होहल्ला भएपछि स्थगित गर्नु परेको मतदान अधिकृत मण्डलले बताए ।

उनले एक विज्ञप्ति जारी गर्दै शुक्रबार साँझ एक समूहले आफूलाई जनकपुरधाम वडा नम्बर–८ स्थित घरबाट अपहरण गरेर आफूखुशी अवैधानिक तरिकाले प्रमाणपत्र लिएको भन्दै सो प्रमाणपत्र रद्द गर्नुपर्ने माग गरेका हुन् । त्यहाँ आफूले क्षेत्रीय अधिवेशन गराउन नसक्ने भन्दै राजिनामा दिएको मण्डलले जनाए ।

महोत्तरीको बाँकी ३ वटा क्षेत्रमा अधिवेशन सम्पन्न भईसकेको छ । क्षेत्र नम्बर–१ मा महेश झा, क्षेत्र नम्बर–२ मा राजकरण साह र क्षेत्र नम्बर–४ मा उत्तिम यादव सर्वसम्मत चयन भईसकेका छन् ।

यसअघि महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को अधिवेशनको क्रममा गत बुधबार झडपसमेत भएको थियो । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र बरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलबीच भएको विवाद र अडानले झडप भएको थियो ।