जनकपुरधाम, १७ मंसिर । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनअन्तर्गत प्रदेश नम्बर २ को सभापतिका लागि बरिष्ठ नेता रामचन्द्र पौडेलको समूहबाट नेता रञ्जीत कर्णले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पार्टीका वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइरालासहित संस्थापनइतर समूहले अन्तिममा आएर नेता कर्णलाई प्रदेश सभापतिको उम्मेदवार बनाएको हो ।

पौडेल र कोइरालाको टिमबाट उम्मेदवार तय नभएपछि पूर्वसंविधानसभा सदस्य कर्णलाई उम्मेदवार बन्न उनीहरुले आग्रह गरेको स्रोतले जनाएको छ ।

उनले भने,‘मलाई पार्टीका साथीहरूले प्रदेश २ सभापतिको उम्मेदवार बन्न आग्रह गर्नुभएकोले तयार भएको छु ।’

यसअघि आजै प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको समूहले प्रदेश सभापतिमा रौतहटका कृष्णा यादवलाई उम्मेदवार घोषणा गरेको थियो ।

त्यस्तै, पार्टी उपसभापति बिमलेन्द्र निधिको समूहबाट प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका पार्टीका संसदीय दलका नेता रामसरोज यादवले प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।