पहिलो खेलमा फ्रेन्ड्स र थ्रीस्टार क्लबले अंक बाँड्यो

काठमाडौं, १७ मंसिर । सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार भएको तेस्रो चरणको पहिलो खेलमा फ्रेन्ड्स क्लब र थ्रीस्टार क्लबले अंक बाँडेका छन् । दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले १–१ को बराबरी खेलेका हुन् ।
खेलको सुरुवातदेखि नै थ्रीस्टारमाथि दबाब बनाएको फ्रेन्ड्सका लागि ५१ औँ मिनेटमा कप्तान प्रकाश बुढाथोकीको पासमा नाइजेरियन खेलाडी नथेजियल गार्सियाले गोल गरेका हुन् । मिक्छेन तामाङले ७ ८औँ मिनेटमा गोल गर्दै थ्रीस्टारलाई बराबरीमा ल्याए ।
दुवै टोलीले पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा अंक बाँड्न बाध्य भए । खेलको चौथो मिनेटमा फ्रेन्ड्स प्रिजन तामाङले सेन्टरबाट हानेको बल पोस्टबाट बाहिरिन पुग्यो । १९ औँ मिनेटमा थ्रीस्टारका हेमन्त थापामगर हानेको फ्रि किक पोस्टको माथिबाट बाहिरिएको थियो ।
त्यस्तै, २२ औँ मिनेटमा फ्रेन्ड्सका खेलाडीले गरेको प्रहारलाई अनन्त तामाङले क्लियर गरे । त्यस्तै, २५ औँ मिनेटमा हेमन्त थापाको पासमा सन्जोक राईले गरेको प्रहारलाई प्रेमबहादुर भण्डारीले क्लियर गरे ।
खेल बराबरीमा सकिएपछि सहायक प्रशिक्षक रवीन्द्र सिलाकार असन्तुष्ट देखिएका छन् । उनले आजको खेलमा फर्मेसन परिवर्तन गरेर खेलेको बताए । ’फर्मेसन चेन्ज गरेका थियौँ । मिडफिल्डका खेलाडीले राम्रो खेले’ उनले भने ’थ्रीस्टारमा स्ट्राइकर खेलाडीलाई प्रशिक्षण राम्रो भइरहेको छैन । फर्वाड ल्याउने प्रयास भइरहेको छ ।’
त्यस्तै, फ्रेन्ड्स क्लबका प्रशिक्षक मिर्गेन्द्र मिश्रले आफूहरू राम्रो खेलेको बताए । उनले भने, ’राम्रो खेल्यौँ । च्याम्पियन्ससँग यतिको खेल्दा सन्तुष्ट छु ।’ उनले खेलाडीबीच कम्युनिकेशन राम्रो भएको बताए । उनले खेलाडीको प्रस्तुतिबाट सन्तुष्ट रहेको बताए ।