जनकपुरधाम, १७ मंसिर । नेपाली कांग्रेसको प्रदेश २ सभापति पदका लागि प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको समूहबाट कृष्णा यादवले उम्मेदवारी घोषणा गरेका छन् ।

यादवले शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गरी नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश २ को सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपाली काँग्रेसलाई प्रदेश २ मा थप मजबुत बनाउने लक्ष्यका साथ आफूले सभापति पदमा उम्मेदवारी दिन लागेको यादवले बताए । उनले आफू प्रदेश सभापति पदमा जितेपछि यस प्रदेशमा पार्टीलाई पहिलो नम्बरको पार्टी बनाउने दावी गरेका छन् ।

सभापति देउवा पक्षबाट अलग भएर सभापतिका आकांक्षी उम्मेदवार समेत रहेका उपसभापति विमलेन्द्र निधिको पक्षबाट भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा गरिसकेको अवस्थामा कृष्णा यादवले पार्टी सभापति देउवको समूहबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

रौतहट स्थायी घर भएका कृष्णा दोस्रो पटक जिल्ला सभापति भइसकेका छन् । २०३६ सालदेखि नै आफू बहुदल निर्दलमा लागिसकेको व्यक्ति रहेको उनले बताए । २०५६ सालमा महासमिति सदस्य भएका उनी २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनको समयमा उनी रौतहटको निर्वाचन क्षेत्र नम्बर–४ बाट संविधानसभा सदस्य बनेका थिए । २०६७ र २०७२ सालमा रौतहटको जिल्ला सभापति बनिसकेका उनी अहिलेसम्म आफू पार्टीको क्रियाकलाप र सम्पूर्ण गतिविधिमा निरन्तर संलग्न रहेको बताए ।

पार्टीका महोत्तरी सभापति महेन्द्र रायले पनि सभापतिमा उम्मेदवारी दिने चाहना राखेका थिए । पछि सहमती भएपछि उनले कृष्ण यादवलाइ समर्थन गरेका छन् । यादवले उम्मेदवारी घोषण गरिरहँदा उनीसंग कांग्रेस निवार्चन समिती प्रदेश २ का संयोजक समेत रहेका कांग्रेसका नेता रमेस रिजाल, केन्द्रिय सदस्यहरु महेन्द्र यादव, आनंन्द प्रसाद ढुङानालगायतकाले आफुहरुको समर्थन कृष्ण यादवलाइ रहेको बताए ।
यस्तै सभापतिका लागि सप्तरी सभापति दिनेश यादवले पनि इच्छा देखाएका छन् ,यद्यपि उनी भने खुलेर अहिलेसम्म आएका छैनंन । यादव जिल्ला विकास समितिका सभापति भइसकेका छन् । प्रदेश सभापतिका लागि उम्मेदवारी घोषणा गरेका कृष्ण यादव संस्थापन देउवा पक्षका छन् भने प्रदेशमन्त्री रामसरोज यादव पसभापति विमलेन्द्र निधि निकट छन् ।

नेपाली काँग्रेस प्रदेश २ को प्रथम अधिवेशन प्राविधिक कारणले स्थगित भएपनि आकांक्षी उम्मेदवारहरुले आ–आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

प्रथम प्रदेश अधिवेशन सुरु भए पनि प्रतिनिधिको नाम आउने क्रम जारी रहेको भन्दै काँग्रेसको प्रदेश निर्वाचन समितिले निर्वाचन प्रक्रिया स्थगित गरेको जनाइसकेको छ ।

प्रदेशका केही जिल्लामा क्षेत्रीय अधिवेशनसमेत हुन नसकेकाले निर्वाचन प्रक्रिया अनिश्चितता बनेको छ । अधिवेशन आयोजक प्रदेश समितिका संयोजक रमेश रिजालले चाँडै जिल्लाहरुमा क्षेत्रीय अधिवेशन भइसक्ने समेत जानकारी दिए । जिल्लाहरुमा क्षेत्रीय अधिवेशन भए लगत्तै प्रदेशको निर्वाचनप्रक्रिया सुरु गर्ने उनले बताए । शनिबार मतदाता नामावली प्रकाशन, त्यसमाथिको दाबी विरोध, उम्मेदबारी दर्ता र त्यसपछि दाबी विरोधका कार्यक्रमहरु निर्धारण गर्ने योजना रहेको रिजालले बताए ।

उनले भने, ‘बाँकी रहेका जिल्लामा भोलीसम्म क्षेत्रीय अधिवेशन हुनेमा म विश्वस्त छु, यदि हुन सकेन भने त्यस अनुसारको प्रक्रिया अगाडि बढाइनेछ ।’