जनकपुरधाम, १७ मंसिर । नेपाली काँग्रेस प्रदेश २ को प्रतिनिधिको नाम दर्ता स्थगित भएको छ ।

शुक्रवारका लागि निर्धारण गरिएको मनोनयन पत्र दर्ता गर्ने काम स्थगित भएको धनुषाका रजिष्ट्रेशन संयोजक विशेश्वर यादवले जनाएका छन् ।

शुक्रवार एक सूचना जारी गरेर प्राविधिक कारण देखाउँदै प्रथम प्रदेश अधिवेशनमा प्रतिनिधिहरुको नाम दर्ता कार्य स्थगित गरिएको संयोजक यादवले जानकारी दिए ।

८ वटा जिल्ला रहेको प्रदेश २ मा हालसम्म ४ वटा जिल्लाबाट मतदाता नामावली नआएका कारण मनोनयन दर्ता स्थगित गरिएको हो । महोत्तरी, सर्लाही, बारा र पर्साबाट हालसम्म मतदाताको नाम आएको छैन् ।

यसैबिच, केन्द्रीय महाधिवेशन आउन एक साता मात्रै बाँकी रहेका बेला सर्लाहीमा भने काँग्रेसको वडा अधिवेशन पनि हुन सकेको छैन । जिल्लामा कांग्रेसभित्रको आन्तरिक द्वन्द्वका कारण अधिवेशन हुन नसकेको हो ।

केन्द्रीय निर्वाचन समितिले पठाएका निर्वाचन अधिकृतले अधिवेशन गराउन नसकेर राजीनामा दिँदै फर्किएपछि सर्लाहीमा अधिवेशन अनिश्चित बनेको हो । यसअघि केन्द्रले पठाएका तीन जना जिल्ला निर्वाचन अधिकृतले राजीनामा दिएपछि बिहीबार चौथो निर्वाचन अधिकृत पठाइएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठका अनुसार पछिल्लो पटक अरूण ज्ञवाली निर्वाचन अधिकृतका रुपमा सर्लाही गएका छन् ।

निर्वाचन समितिले पहिलो पटक विनोद कार्कीलाई निर्वाचन अधिकृतका रुपमा सर्लाही पठाएको थियो । उनले विवाद सुल्झाउन नसकेपछि राजीनामा दिएका थिए । त्यसपछि अधिवेशन गराउन दिवाकर पाण्डे सर्लाही पुगे । तर पाण्डेमाथि पार्टी कार्यालयमै आक्रमण भएपछि उनले महाधिवेशन गराउन नसक्ने भन्दै राजीनामा दिए ।

दुई जना निर्वाचन अधिकृतले राजीनामा दिएपछि कांग्रेसले भरत राउतलाई पठाएको थियो । उनले अधिवेशन प्रक्रिया अगाडि बढाए । उनले सर्लाहीमा दुई सय वडा रहेकोमा एक ९० वडामा वडा अधिवेशन सम्पन्न गराए ।

तर शुक्रबारका लागि प्रदेश र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनको मिति तोकिएकोमा निर्वाचन अधिकृत राउत भने सम्पर्कविहीन भएपछि अधिवेशन प्रभावित भएको हो । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव श्रेष्ठले नयाँ निर्वाचन अधिकृतले एक÷दुईमै अधिवेशन प्रक्रिया अगाडि बढाउने बताए ।