३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सचेतनामूलक र्याली निकालियो

जनकपुरधाम, १७ मंसिर । ‘हाम्रो प्राथमिकताको आधार अपाङ्गता भएका व्यक्तिको अधिकार’ भन्ने मूलनाराका साथ शुक्रबार मनाइएको ३० औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा धनुषामा सचेतनामूलक र्याली निकालिएको छ ।
जिल्लाको मिथिला विहारी नगरपालिका–१०, ठेरामा रहेको नेपाल तराई अपाङ्ग संघको संयोजनमा र्याली निकालिएको हो ।
ठेरा बजारबाट निस्किएको र्याली गाउँको विभिन्न भागको परिक्रमा गरि पुनः बजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।
¥यालीमा सहभागीहरुले ‘अपाङ्ता अधिकार सुनिश्चित गर’, ‘हामीलाई दया, माया होइन, अधिकार देऊ’ लगायतका नारा लगाएका थिए ।र्यालीमा सहभागीहरुले सचेतनामूलक विभिन्न ‘प्ले कार्ड’हरु पनि बोकेका थिए ।
नेपाल तराई अपाङ्ग संघको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै प्रदेश २ का पूर्व आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादवले सम्पूर्ण अपाङ्गहरुलाई उनीहरुको आवश्यकता अनुसारको सुविधा उपलब्ध गराउनु सरकारको दायित्व रहेको बताए ।
उनले अपाङ्गको समस्याबोर सरकारले तथ्यांक संकलन गरेर समस्याको सम्बोधन गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।
नेपाल तराई अपाङ्ग संघ धनुषाका अध्यक्ष विन्दु यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश २ का प्रदेशसभा सदस्य चमेलीदेवी दास, जसपाका संयोजक सिता देवी यादव, मिथिला विहारी नगरपालिका वड नम्बर–८ का वडाध्यक्ष जीवछ यादव, वडा नम्बर–१० का वडाध्यक्ष ललित झालयागतका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।