जनकपुरधाम, १७ मंसिर । सप्ताहव्यापी रुपमा मनाइने विश्व प्रसिद्ध रामजानकी विवाहपञ्चमी महोत्सव आजदेखि सुरु भएको छ ।

त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनास्वरुप परापूर्वकालदेखि नै यहाँ धुमधामसँग विवाहपञ्चमी महोत्वस मनाउने गरिन्छ ।

त्रेतायुगमा मर्यादा पुरुषोतम श्रीराम र आर्दश नारी सीताबीच भएको विवाहको स्मरणमा प्रत्यक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मिथिला नगरी जनकपुरधाममा विवाह महोत्सव आयोजना गरिन्छ ।

यस वर्ष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज जनकपुरधाम नगर दर्शन, १८ गते फूलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंवर तथा विवाह र २३ गते रामलेवा विधिको कार्यक्रम आयोजना गरिन लागिएको हो ।

स्थानीय प्रशासन र अभियन्ताहरुले विवाहपञ्चमीलाई लक्षित गरी नगरक्षेत्र सरसफाइमा जुटेका छन् । उनीहरु मिलेर नगरक्षेत्र निरन्तर सरसफाइ गरिरहेका छन् । विवाहपञ्चमीलाई लक्षित गरी नगरभित्रका अधिकांश ठाउँको फोहोर उठाइएको छ ।

यस वर्ष विवाहपञ्चमीमा भारतको सिमावर्ती क्षेत्र र नेपालको विभिन्न स्थानबाट लाखौँ श्रद्धालु सहभागी हुने अनुमान छ । रामजानकीको स्वयंवर, धनुष यज्ञ, वैवाहिक कार्यक्रममा सहभागि भई पूजाअर्चना गर्नाले पारिवारिक सुखशान्ति र हरेक दुःखबाट मुक्ति हुने जनविश्वास रहेको छ ।

मिथिला परम्पराअनुसार सात दिनसम्म विभिन्न विधि सम्पन्न गरी वैवाहिक कार्यक्रमको आयोजना हुने सातै दिनलाई रोचक र भव्य बनाउने तयारी भइरहेको छ ।