मावि मिथिलेश्वर: छात्राले साइकल पाएनन्, ढुवानी खर्चको नाममा ७ महिनाअघि प्रतिबिद्यार्थी ३ सय रुपैयाँ असुलियो !

जनकपुरधाम, १७ मंसिर । धनुषाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकले विद्यार्थीसँग अवैधानिक रुपमा रकम असुलेको पाइएको छ ।
जिल्लाको मिथिला विहारी नगरपालिका वडा नम्बर–३ मिथिलेश्वर मौवाहिस्थित श्री माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूसँग प्रधानाध्यापक लालबाबु यादवले अवैधानिक रुपमा रकम असुलेका हुन् ।
प्रदेश २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत सामुदायिक विद्यालयहरुमा निःशुल्क रूपमा साइकल पाउनुपर्नेमा सो विद्यालयका प्रधानाध्यापक यादवले साइकल वितरण नै नगरि ७ महिनाअघि ५३ जना छात्राको अभिभावकसँग प्रतिव्यक्ति ३ सय रुपैयाँ असुलेका छन् ।
विद्यालयले त्यसवापत आफूहरुलाई कुनै रसिद नदिएको कक्षा ९ मा अध्ययनरत छात्रा प्रिति कुमारी दासले बताइन् । उनले भनिन्,‘प्रधानाध्यापक यादवले साइकलवापत छात्राहरुसँग ३ सय रुपैयाँ लिएको ७ महिना भईसक्यो तर, अहिलेसम्म हामीलाई साइकल दिनुभएको छैन् ।’
त्यस्तै, सोही कक्षामा अध्ययनरत सुहाना खातुनले भनिन्,‘आफूहरु कक्षा ८ मा पढिरहेकै बेला प्रधानाध्यापक यादवले साइकल दिने भन्दै प्रतिबिद्यार्थी ३ सय रुपैयाँ लिएका थिए । तर, हामी अहिले कक्षा ९ मा आइसक्दासमेत साइकल पाएका छैनौं ।’
विद्यालयद्वारा विद्यार्थीलाई दिने गरिएको दिवा खाजामा पनि व्यापक अनियमितता देखिएको विद्यार्थीको गुनासो छ । कक्षा ३ मा अध्ययनरत बिद्यार्थीहरुले आफूहरुलाई विद्यालयले दिवाखाजामा बासी खिचडी दिने गरेको बताएका छन् । आफूहरुले सो खिचडी खाँदा वान्ता समते भएको बिद्यार्थीको गुनासो छ ।
कक्षा ३ मा अध्ययनरत छात्र हामिद राईनले शिक्षक शिक्षिकाहरु आफै ताजा खाजा पकाएर खानेगरेपनि बिद्यार्थीलाई भने बासी खाजा खुवाईरहेको बताए । ‘३ घण्टी पढाएर नै विद्यालयमा छुट्टी भईहाल्छ,’उनले भने,विद्यालयमा पढाई पनि राम्ररी हुँदैन् ।
विद्यालयका प्रधानाध्यापक यादवले विद्यालयमा समय–समयमा आफ्नो मनोमानी गर्दै आएको स्थानीय संजय ठाकुरको आरोप छ । उनले प्रधानाध्यापक लालबाबु यादवले विद्यालयमा पठनपाठन नगराई राजनीति गर्ने अखडा बनाएको र विद्यार्थीको भविष्यसँग खोलवाड गर्ने प्रवृति उनमा हावी भएको आरोप लगाए ।
विद्यालयलाई राजनीतिको अखडा बनाइ शिक्षास्तर धारासायी बनाएका उनले विगत ५ वर्षदेखि स्कुलको हरहिसाबसमेत हालसम्म विभिन्न बहाना र विभिन्न राजनीतिक संरक्षणका कारण पारदर्शी नगरेको संजयको आरोप छ ।
गाउँका भद्रभलाद्मीले विगत ५ वर्षदेखि हरहिसाब माग्दा उनले पटक पटक समय मात्र दिने गरेको र दबाब बढाएपछि गत असोज ११ गते लिखित सम्झौताअनुसार कात्तिक २३ गते सम्पूर्ण हरहिसाब सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि कात्तिक ५ गते वार्षिक प्रतिवेदन मात्र प्रस्तुत गरेको ठाकुरले बताए ।
त्यसपश्चात उनको विरोध गर्दा उनले दुई दिनभित्र हरहिसाब सार्वजनिक गर्ने बताए पनि पछि एक महिनासम्म बिरामी बिदा लिएर घर बसेको संजयले बताए । बिरामी बिदा लिएर घर बसेका प्रधानाध्यापक यादव कात्तिक महिनाभर गायब भएको उनको गुनासो छ । उनको क्रियाकलापदेखि रुष्ट बनेका केही शिक्षकलाई उनका समर्थक शिक्षकहरूले अभिभावकलाई धाक धम्की र दबाबसमेत दिएको बताइएको छ । विद्यालयमा करिव १ हजार ४ सय विद्यार्थी अध्ययनरत छन् ।
यस सम्बन्धमा प्रधानाध्यापक यादवले मुख्यमन्त्री कार्यालयबाट सो विद्यालयका लागि अहिलेसम्म साइकल उपलब्ध नगराईएको बताए । उनले विद्यालयलाई अन्य कुनै आम्दानीको स्रोत नरहेकोले आपसि सहमतिकै आधारमा छात्राहरुको अभिभावकसँग साइकल ढुवानी खर्चको नाममा प्रतिबिद्यार्थी ३ सय रुपैयाँ लिएको स्विकार गरेका छन् । बासी खाजाको बारेमा आफूलाई कुनै जानकारी नरहेको भन्दै उनी पन्छिन खोजेका छन् ।
प्रदेश सरकारले खरिद गरेको साइकलमा अनियमितता भएको उजुरी परेपछि अख्तियारको टोलीले गत असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापामारीसमेत गरेको थियो । अख्तियारको टोलीले साइकल खरिदको फाइल नै नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
प्रदेश २ को ‘मुख्यमन्त्री बेटी पढाउ, बेची बचाउ’ अभियानअन्तर्गत भएको साइकल खरिदमा व्यापक भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरिसकेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खरिद गरेको साइकलमा प्रारम्भिक चरणको अनुसन्धानमा अनियमितता भएको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।
उनले भने, ‘प्रारम्भिक अनुसन्धानको क्रममा अनियमितता भएको देखिएकोले त्यो चरणलाई सकाएर दोस्रो चरणमा विस्तृत रूपमा अनुसन्धान थालेका छौँ । त्यसका लागि छुट्टै अनुसन्धान अधिकृत नियुक्त भएर अनुसन्धान अगाडि बढ्छ ।’