जनकपुरधाम, १६ मंसिर । सिरहामा विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका ८ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामअशिस दास तत्मा, परशुराम यादव, काशिन्द्र यादव, अनिता देवी सहनी, राम कुमार मगर, साजन कुमार लामा, जगदिश नायक र रामबाबु यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका ७ जना र अन्य एकजना बुधबार पक्राउ परेको जानकारी दिए । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत सिरहामा बुझाइएको छ ।

सिरहाको लक्ष्मीपुरपतारी गाँउपालिका वडा नं. ५ खरुकियाहीका ६० वर्षीय रामअशिस दास तत्मालाई कुटपिट तथा अंगभंग मुद्दामा २ बर्ष कैद र १ लाख जरिवाना तिराउने अदालतले फैसला सुनाएको थियो । लहान नगरपालिका वडा नं.२० भवानीपुर कलाबन्जरका ३४ वर्षीय परशुराम यादवलाई नकवजनी चोरी मुद्यामा १ दिन कैद र ४ लाख ९९ हजार ६५० तिराउने अदालतले फैसला सुनाएको थियो ।

सुखिपुर नगरपालिका वडा नं. ५ का ३८ वर्षीय कासिन्द्र यादवलाई लेनदेन मुद्यामा २ बर्ष कैद, सिरहा नगरपालिका वडा नं. १२ गम्हरिया टोलका ४५ वर्षीया अनिता देवी सहनीलाई लेनदेन विगो मुद्यामा ६ महिना कैद, गोलबजार नगरपालिका वडा नं.२ गुरुधामका ४१ वर्षीय राम कुमार मगरलाई सवारी ज्यान मुद्यामा १५ दिन कैद र २ हजार जरिवाना, ३५ वर्षीय साजन कुमार लामालाई ८ दिन कैद र २ हजार जरिवाना, औरही गाँउपालिका वडा नं.२ का ६७ वर्षीय जगदिश नायकलाई जग्गा खिचोला मुद्यामा १३७.५० जरिवाना र झै–झगडा तथा कुटपिट मुद्याका फरार रहेका बिष्णुपुर गाँउपालिका वडा नं. १ का ३५ वर्षीय रामबाबु यादवलाई पक्राउ गरिएको छ ।