काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आजदेखि प्रदेश अधिवेशन सुरु

जनकपुरधाम, १६ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेश अधिवेशन सुरु भएको छ । आज सबै प्रदेशमा अधिवेशन उद्घाटन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सातवटै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्न लागेका हुन् । प्रदेश एकको अधिवेशन विराटनगर, प्रदेश २ को जनकपुरधाम, बागमती प्रदेशको हेटौंडा, गण्डकीको कर्णाली, लुम्बिनीको भैरहवा, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुन लागेको कांग्रेसले जनाएको छ ।
कांग्रेसमा पहिलो पटक प्रदेश कमिटी बन्न लागेको हो । मुलुक संघीयतामा गएको ६ वर्ष पुगिसक्दा पनि कांग्रेसले प्रदेश संरचना भने बनाएको थिएन । १४ औं महाधिवेशन अघि कांग्रेसले प्रदेश अधिवेशन गर्न लागेको हो । अधिवेशनले सात वटै प्रदेशमा प्रदेश कमिटी चयन गर्नेछ ।
प्रदेश नेतृत्वका लागि कांग्रेसभित्र संस्थापन र इतर समूहले छुट्टाछुट्टै प्यानल बनाएका छन् । प्रदेश एकमा पूर्वमहामन्त्री कृष्णप्राद सिटौलाको उम्मेदवारलाई संस्थापन समूहले समर्थन गरेको छ ।
सिटौला समूहबाट कांग्रेस झापाका पूर्व सभापति उद्धव थापा उम्मेदवार बन्दैछन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट केन्द्रीय सदस्य गुरु घिमिरे र प्रदेश एकका संसदीय दलका नेता राजीव कोइराला सभापतिका आकांक्षी छन् ।
प्रदेश २ मा पार्टीको नेतृत्व सम्हाल्नका लागि सभापतिमा रामसरोज यादव, सप्तरी जिल्ला सभापति दिनेश यादव, महोत्तरी जिल्ला सभापति महेन्द्रकुमार यादव र रौतहटका सभापति कृष्णा यादवसहित ४ जना आकांक्षी छन् । यी चारैजना कांग्रेस उपसभापति विमलेन्द्र निधि नजिकका मानिन्छन् । सभापतिका आकांक्षी यिनीहरूसँग जिल्ला हाँकेको अनुभवसमेत छ ।
बागमती प्रदेशमा सभापतिका लागि तीन जनाले उम्मेदवारी घोषणा गरेका छन् । संस्थापन समूहबाट कांग्रेस मकवानपुर सभापति इन्द्र बानियाँ, पौडेल समूहबाट जगदीश्वर नरसिंह केसी र सिटौला समूहबाट भीमसेनदास प्रधान उम्मेदवार बनेका छन् ।
गण्डकीमा संस्थापन समूहबाट केन्द्रीय सदस्य अर्जुन जोशीले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
लुम्बिनीमा संस्थापन समूहबाट सांसद भरत शाह उम्मेदवार बन्दैछन् भने पौडेल समूहले कांग्रेस रोल्पाका पूर्वसभापति अमर पुनलाई उम्मेदवारका रुपमा अगाडि सारेको छ ।
कर्णालीमा संस्थापन समूहले उम्मेदवार टुंग्याइसकेको छैन भने पौडेल समूहबाट नेता भुपेन्द्रजंग शाही प्रदेश सभापतिको उम्मेदवार बनेका छन् । सुदूरपश्चिममा संस्थापन र इतर समूहले उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।
निर्वाचन समितिका अनुसार शुक्रबार उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने शनिबार मतदान हुनेछ ।