राष्ट्रिय टोलीको प्रशिक्षकका लागि पाँचजना प्रशिक्षकको क्यानले लियो अन्तर्वार्ता

काठमाडौं, १६ मंसिर । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीको प्रशिक्षकका लागि अन्तिम पाँचजना प्रशिक्षकको अन्तर्वार्ता लिएको छ ।
कुल ६० जना प्रशिक्षकको आवेदन परेको थियो । जसमध्ये १५ जनालाई पहिलो चरणमा बोलाइएको थियो । पहिलो चरणको छनोट प्रक्रियाबाट अन्तिम ५ जनालाई क्यानको प्रशिक्षक छनोट समितिले बुधबार अन्तरवार्ता लिएको हो ।
क्यानले अन्तिम पाँच जनाको नियुक्तिका लागि भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलसँग समन्वय गरी नतिजा प्रकाशन गर्ने बताएको छ ।
क्यानले राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षक छनोट गर्न कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)का एकजना प्रतिनिधि पनि रहने क्यानको बोर्ड बैठकले निर्णय गरेको छ ।
समितिमा क्यान कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक रौनकबहादुर मल्ल र क्रिकेट म्यानेजर विनोद दास सदस्य रहेका छन् । डेभ वाटमोरले गत ओमान भ्रमणपछि लागू हुने गरी दिएको राजीनामापछि अहिले नेपाली टोलीको प्रमुख प्रशिक्षक पद रिक्त रहेको छ ।