जनकपुरधाम, १६ मंसिर । नेपाली काँग्रेसको प्रदेश २ उपसभापति पदका लागि प्रफुल्लराज घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् ।

बिहिबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै घिमिरेले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले विमलेन्द्र निधिको समुहबाट आफूले सो पदमा उम्मेदवारी दिने बताए ।

घिमिरेले आफू २०३५ सालदेखि नेपाल विद्यार्थी संघबाट नेपाली काँग्रेसमा आफ्नो राजनीतिक यात्राको शुरुवात गरेको बताए । उनले पछिल्लो ४३ वर्षदेखि आफू राजनीतिमा लागेको र पटक पटक जेल यातना भोगेको बताए ।

उनले जनकपुरधामस्थित राराब क्याम्पसको स्ववियु उपसभापति, तत्कालिन जिल्ला विकास समितिको इलाका नं. १३ संयोजक, नेपाली काँग्रेस जनकपुर नगरसमितिको सदस्य सचिव भएका हुन् भने तरुण दलको जिल्ला अध्यक्ष, केन्द्रि सदस्य भएर काम गरिसकेका छन् ।

नेपाली काँग्रेसको संरचनामा पहिलो पटक उम्मेदवारी दिन लागेका घिमिरे संगठन भित्रको विकृति विसंगतिहरुलाई हटाउन र नेपाली काँग्रेसलाई समावेशिताको सिद्धान्तको आधारमा विधिविधानमा मात्र सिमित नगरेर व्यवहारमा लागु गराउन अहम भूमिका निर्वाह गर्ने बताए ।

नेपाल पत्रकार महासंघ धनुषाका साधारण सदस्य समेत रहेका घिमिरेले आफ्नो उम्मेदवारी हरेक समुदाय, धर्म, जात, भाषाभाषीलाई समानताको आधारमा नेपाली काँग्रेसको नेतृत्व तहमा संगठनका पदाधिकारी, कार्यसमितिमा लग्ने अभियानमा लाग्ने बताए ।