विवाहपञ्चमी महोत्सवलाई ध्यानमा राख्दै वडाध्यक्षहरुको आन्दोलन स्थगित

जनकपुरधाम, १५ मंसिर । नगरक्षेत्रमा सरसफाइ लगायतको माग राख्दै आन्दोलित जनकपुरधामका उपमहानगरपालिकाका वडाध्यक्षहरु आफ्नो सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु तत्कालका लागि स्थगित गरेका छन् ।
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवलाई ध्यानमा राखेर आन्दोलनका कार्यक्रमहरु तत्कालका लागि स्थगित गरिएको आन्दोलित वडाध्यक्षहरुले बुधबार जनकपुरधाममा एक पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएका हुन् ।
यद्यपि सरसफाइ, बोर्ड बैठक बसाउनुपर्ने लगायतका मागहरु सम्बोधन नगरिए आफूहरु विवाहपञ्चमीपछि फेरी थप उर्जाका साथ आन्दोलन गर्ने चेतावनी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले दिए ।
विवाहपञ्चमीमा जनकपुरधामको सरसफाइमा लाग्नुका साथै सो महोत्सवलाई थप भव्य बनाउनुपर्ने अभिप्रायका साथ आफूहरुले आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको वडा नम्बर–३ का वडाध्यक्ष दीपेन्द्रकुमार साहले बताए ।
नगरप्रमुख लालकिशोर साह विवाहपञ्चमीपछि पनि नसुध्रिए उनीविरुद्ध कडाईका साथ आफूहरु प्रस्तुत हुने वडा नम्बर–४ का वडाध्यक्ष सुदर्शन सिंहले जानकारी दिए ।
आफूहरु जनकपुरधाम उपमहानगरपालिकाको समस्याको बारेमा संघीय सरकारलाई ध्यानाकर्षण गराउन सफल भएको जनप्रतिनिधिहरुको भनाई थियो । पत्रकार सम्मेलनमा युवा अभियानी सरोज कुमार मिश्रको समेत सहभागिता रहेको थियो ।