जनकपुरधाम, १५ मंसिर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विवाहपञ्चमी महोत्सवको समग्र तयारीमा जुट्न सरोकारबाला निकायहरुलाई निर्देेशन दिएका छन् ।

प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका, जानकी मन्दिर एवं सुरक्षा निकायका प्रमुखहरु सहितको संयुक्त बैठकमा मुख्यमन्त्री राउतले प्रदेशको धरोहर रहेको विवाहपञ्चमी महोत्सवलाई भव्य बनाउन सबै निकायलाई निर्देशन दिएका हुन् ।

महोत्सवलाई लक्षित गर्दै सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सुरक्षा निकायहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री राउतले सुृरक्षा व्यवस्थालाई थप मजबुत बनाउन आवश्यक व्यवस्थापन प्रदेश सरकारले गरि दिने प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै, उपमहानगरको नेतृत्वमा हुने सरसफाइमा सुरक्षा निकायका साथै स्थानीय सघसंस्थाहरुलाई समेत सहयोग गर्न उनले आग्रह गरे ।विवाहपञ्चमी महोत्सवलाई भव्य र सभ्य बनाउन प्रदेश सरकारको तर्फबाट मुल नाकाहरुमा प्रवेशद्वार निर्माण गर्नुका साथै खानेपानीको व्यवस्थागर्न सम्बन्धित मन्त्रालयहरुलाई समेत उनले निर्देशन दिए ।

बैठकमा उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवी कुमारी कर्ण ,जनकपुरधाम उपमहानगरका प्रमुख लालकिशोर साह, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास, प्रमुख सचिव हरिप्रसाद मैनाली, आन्तरिक मामिला मन्त्रालयका सचिव राम कुमार महतो, प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, जनकपुरधाम उपमहानगरका कार्यकारी अधिकृत प्रधुमन प्रसाद उपाध्याय, नेपाली सेनाका सहायक रथी शिशिर चन्द्र केसी, नेपाल प्रहरीका डिआइजी उमेश रञ्जितकार, सशस्त्र प्रहरीका डिआइजी गणेश ठाडा मगर, अनुसन्धानका निर्देशक ओम प्रकाश जोशी, धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरे सहितको सहभागिता रहेको थियो ।