धनुषामा मंसिर १७ देखि मतदाता नामावली संकलन विशेष कार्यक्रम सुरु हुँदै

जनकपुरधाम, १५ मंसिर । निर्वाचन आयोगले देशभरका ७५३ स्थानीय तहमध्ये ६३७ स्थानीय तहको केन्द्रबाट मतदाता नामावली संकलन विशेष कार्यक्रम सुरु गर्न लागेको छ ।
सोहीअनुरुप धनुषामा पनि पालिकास्तरमा मतदाता नामावली संकलन गर्न लागिएको प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।
जिल्लाका १६ वटा स्थानीय तहमा पुगेर दुई चरणमा मतदाता नामावली संकलनसम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्ने आयोगका प्रमुख पुष्पा झाले जानकारी दिइन् ।
मंसिर १७ देखि आगामी पुस २ गतेसम्म १५ दिनका लागि सञ्चालन हुने पहिलो चरणको कार्यक्रममा जिल्लाको मिथिला, कमला, क्षीरेश्वरनाथ, विदेह, मिथिला विहारी, सबैला, धनुषाधाम नगरपालिका तथा औरही गाउँपालिकामा मतदाता नामावली संकलन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै आगामी पुस ४ देखि १८ गतेसम्म सञ्चालन हुने दोस्रो चरणको कार्यक्रममा बटेश्वर, जनकनन्दिनी, लक्ष्मीनिया, मुखियापट्टी मुसहरनीया र धनौजी गाउँपालिका तथा हंसपुर, गणेशमान चारनाथ र नगराइन नगरपालिकामा नामावली संकलन गरिनेछ ।
जिल्लाका बाँकी दुई स्थानीय तह जनकपुरधाम उपमहानगरपालिका र शहीदनगर नगरपालिकामा जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयमार्फत नियमित रुपमा मतदाता नामावली संकलन भइरहेको प्रदेश निर्वाचन आयोगको कार्यालयका प्रमुख पुष्पा झाले जानकारी दिइन् ।
देशभरका ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र ४० वटा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता संकलन कार्यलाई निरन्तरता दिँदै मंसिर १७ गतेबाट स्थानीय तहको केन्द्रमा पनि नामावली संकलन गर्न लागिएको केन्द्रय निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।
मतदाता नामावली संकलन कार्य हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिन र तराई, भित्रि मधेश तथा काठमाडौँ उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुने आयोगले जनाएको छ ।
१८ बर्ष उमेर पूरा भएका नेपाली नागरिकको नाम मतदाता नामावलीमा समावेश गरिनेछ ।