४ वर्षीय बालकलाई ज्यान मारेको आरोपमा दुईजना कारागार चलान

जनकपुरधाम, १४ मंसिर । धनुषामा ४ वर्षीय एक बालकलाई ज्यान मारेको आरोपमा दुईजनालाई कारागार चलान गरिएको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर–११ डिल टोलस्थित मजिबुल मिया कवारीकी छोरी मुस्कान खातुनको विवाह समारोहमा सहभागी हुन आएका भारतको मधुबनी जिल्ला बस्ने बालक अरमान राईनलाई ज्यान मारेको आरोपमा पक्राउ परेका सोही नगरपालिका वडा नम्बर–११ बस्ने जाकिर मलङ्ग र नुरेजा खातुनलाई कारागार चलान गरिएको हो ।
गत कार्तिक ९ गते भारतको बिहार राज्यस्थित मधुवनी जिल्ला देउधा ग्राम पञ्चायत वडा नम्बर–१४ बस्ने मोहम्मद अतावुल राईनकी श्रीमती जुमैदा खातुन र उनका ४ वर्षीय छोरा मोहम्मद अरमान राईन मुस्कानको वैवाहिक समारोहमा सहभागी हुन आएका थिए ।
विवाहको भिडभाड रहेको अवस्थामा अरमानले आफ्नो आमालाई पछ्याउँदै गणेशमान चारनाथ नगरपालिका वडा नम्बर–११ स्थित हबिव मिया र नुरेजा खातुनको घरको बिचको सानो गल्ली केरा घारी छेउमा एक्लै रुँदै गरेको अवस्थामा जाकिर र नुरेजाले उनलाई ललाई फकाई अपहरण गरेर आफ्नो कोठामा लगी उनको नाकमुख थुनेर घाँटी थिची उनले लगाएको सर्ट खोलेर कर्तव्य गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
सोही दिन बालक अरमानको शव जाकिर मलङ्गले गणेशमान चारनाथ नगरपालिका वडा नम्बर–२ स्थित लालबिहारी महतोको पोखरीमा फालेको अवस्थामा स्थानीयले खोजतलासको क्रममा फेला पारेका थिए ।
प्रतिवादीहरु जाकिर मलङ्ग र नुरेजा खातुनलाई खोज तलाश गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले कार्तिक १६ गते पक्राउ गरी जिल्ला अदालत धनुषाबाट कर्तव्य ज्यान मुद्धामा म्याद थप गरी अनुसन्धान थालेको थियो ।
अनुसन्धान पश्चात प्रतिवादीद्वय जाकिर र नुरेजालाई जिल्ला अदालतमा पेश गरेकोमा मंसिर १३ गते अदालतको आदेशानुसार दुबै जनालाई पुर्पक्षका लागी कारागार कार्यालय सिन्धुली पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।