प्रदेश २ समितिको सदस्यमा कोमलकान्तको उम्मेदवारी

जनकपुरधाम, १४ मंसिर । नेपाली काँग्रेसका नेता कोमलकान्त झाले आसन्न १४औँ महाधिवेशनमा प्रदेश २ समितिको सदस्य पदमा उम्मेदवारी दिन लागेका छन् ।
झाले मंसिर १७ र १८ गते हुन लागेको नेपाली काँग्रेस प्रदेश २ अधिवेशनमा प्रदेश सदस्य पदका लागि उम्मेदवारी दिन लागेका हुन् ।
विद्यार्थी जीवनबाटै नेपाली काँग्रेसमा रहेर राजनीति गर्दै आएका झा पार्टी भित्र अल्पसंख्यक एवं सीमान्तकृत समुदायको हकहितको रक्षा गर्ने उद्देश्यले आफूले उम्मेदवारी दिन लागेको बताए । उनले बैलटको राजनीतिमा जातीय फ्याक्टर हावी भईरहेको समयमा अल्पसंख्यक तथा सीमान्तकृत समुदायको पक्षमा आवाज उठाउनु पर्ने आजको आवश्यकता रहेको बताए ।
झाले भने,‘पार्टी भित्र समेत अल्पसंख्यक समुदायलाई संगठित बनाउनु छ, यस अभियानमा पार्टीका साथीहरुले समेत हामीलाई सहयोग गर्नेछन ।’
मिथिला विहारी नगरपालिका वडा नम्बर–१० ठेराका स्थायी वासिन्दा कोमलकान्त झा २०४४ सालदेखि नेपाल विद्यार्थी संघको राजनीति गर्दै २०४८ सालमा गाउँ ईकाई कमिटीका सभापति भएका थिए । उनी २०५१ सालमा धनुषा जिल्लाको तत्कालिन क्षेत्र नम्बर ३ का क्षेत्रीय उपसभापति भए ।
२०५६ साल देखि २०६६ सालसम्म नेपाली काँग्रेस धनुषाको जिल्ला कार्यसमिति सदस्य भएर काम गर्नुका साथै २०६७ सालदेखि २०७३ सालसम्म पार्टीको जिल्ला सचिव भएर काम गर्ने अनुभव उनीसँग छ । झा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि नजिकका नेता मानिन्छन् । पहिलो पटक संघिय प्रणालीको ढाँचा अनुसार नेपाली काँग्रेसले गर्न लागेको प्रदेश अधिवेशन अन्तर्गत ६१ सदस्यीय प्रदेश २ को नेतृत्व छनोट गरिनेछ ।