यसै बर्षभित्र रेल सञ्चालनमा आउने भौतिक पूर्वाधारमन्त्री यादवको दावी

जनकपुरधाम, १४ मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले यसै बर्षभित्र रेल सञ्चालनमा आउने दावी गरेकी छन् ।
नेपाल सरकारले खरिद गरेको दुई सेट रेल कर्मचारी र कानून अभावलगायतका कारणले झण्डै ८ महिना देखि थन्काइएर राखिएको अवस्थामा मन्त्री यादवले यसै बर्षभित्र रेल सञ्चालनमा आउने दावी गरेकी हुन् । उनले कानून अभावका कारण रेल सञ्चालनमा आउन नसकेपनि सबै प्रक्रिया पुरा गरेर यसै बर्षभित्र रेल सञ्चालनमा आउने बताएकी छन् ।
मंगलबार जयनगर–जनकपुरधाम रेल्वेको ट्रयाक निरिक्षण गर्दै मन्त्री यादवले नेपाली जनताको चाहनाअनुरुप चाँडै रेल सञ्चालनमा ल्याउने आफूहरुको योजना रहेको बताइन् । उनले ३५ किलोमिटर रेल सञ्चालनमा ल्याउने तयारी गरिरहेको र यसको लागि कर्मचारीको व्यवस्था गर्न लागेको समेत बताइन् । उनले ठ्याक्कै यही मितिमा रेल चल्ने भन्न नसकिए पनि यस बर्षभित्रै कुर्थासम्म रेल सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाएको दावी गरिन । उनले भारतीय सीमा जयनगर देखि जनकपुरधामको कुर्थासम्म चल्ने रेल सञ्चालनका लागि सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको जनाइन् ।
साथै उनले रेल लिक महोत्तरीको बर्दिवाससम्म जोड्ने र पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि त्यहाँ रेल्वे सवस्टेशन निर्माण गर्ने आफूहरुको लक्ष्य रहेको बताइन् । उनले रेल्वे सञ्चालनका लागि अध्यादेश निर्माण भईसकेको र चाँडै नै सदनमा पेश गरिने मन्त्री यादवको दावी छ । उनले केही कागजी प्रक्रियाहरु बाँकी रहेकोले त्यसको तयारीपश्चात चाँडै दुबै देशका प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट रेलको उद्घाटन गराइने दावी गरिन् ।
रेल्वेका महाप्रवन्धक निरञ्जन झाले १ हजार २५४ करोड रुपैयाँको लागतमा निर्माण गरिने भनिएको जयनगर–बर्दिबास सडकखण्डमध्ये ६२३ करोड लागतमा निर्माण गरिएको जयनगर–कुर्था रेलमार्ग भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको जानकारी दिए ।
उनले रेल सञ्चालन सम्बन्धी कार्यविधि तयार भईसकेपनि कर्मचारी व्यवस्थापन, कानूर र भाडादर निर्धारण गर्ने काम बाँकी रहेकोले ति सबै प्रक्रियाहरु चाँडै पूरा गरिने दावी गरे । महाप्रवन्धक झाले भने,‘हामीले भारतीय कम्पनी केआरसिएललाई इनर्वामा विगत ८ महिनादेखि थन्काएर राखिएको रेलसेटको प्राविधिक जाँचका लागि पत्राचार गरिसकेका छौं ।’
उनले अगाडि भने,‘केआरसिएलले प्राविधिक रिपोर्ट तयार पारेर हामीलाई जिम्मा लगाएपछि मात्रै रेल गुडाउने मिति सम्बन्धमा औपचारिक जानकारी दिन सक्छौं ।’
जयनगर–कुर्थासम्म ३५ किलोमिटर रेल लिक तयार भइसकेकाले नेपाल सरकारले गत वर्ष नै रेल सेट खरिद गरिसकेको थियो । गत असोज २ गते नेपाल सरकारले खरिद गरेको दुई सेट रेल आए पनि चल्न नसकेपछि हाल धनुषाको जनकनन्दिनी गाउँपालिकास्थित ईनर्वा स्टेशनमा सशस्त्र प्रहरीको निगरानीमा रेल राखिएको छ ।