कोभ्याक्स सुविधामार्फत थप ७ लाख २५ डोज खोप नेपाल ल्याइयो

काठमाडौं, १४ मंसिर । कोभ्याक्स सुविधामार्फत थप ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप काठमाडौं आइपुगेको छ ।
कोभ्याक्समार्फत प्राप्त हुने ६० लाख डोजमध्ये ७ लाख २५ हजार खोप काठमाडौं आइपुगेको हो ।यहि हप्ता दुई चरणमा थप खोप आउन लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
विभागका व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले अबको दुई चरणमा गरेर बाँकी खोप नेपाल ल्याइने बताए । नेपाल ल्याइएको उक्त खोप छिट्टै देशभर लगाउन थालिने उनको भनाइ छ ।
हालसम्म नेपालमा २ करोड ५५ लाख डोज खोप आइसकेको छ । जसमध्ये १ करोड ८१ लाख पाँच हजार ९५५ डोज खोप लगाइसकिएको छ । जसमध्ये ८३ लाख ८२ हजार ९९४ पूर्ण मात्रा र ९७ लाख २२ हजार ९६१ पहिलो मात्रा खोप लगाइसकेका छन् ।
नेपालमा गत माघदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु गरिएको थियो । भारतले १० लाख डोज कोभिशिल्ड खोप अनुदानमा उपलब्ध गराएसँगै खोप अभियान सुरु भएको थियो । तर, भारतले पछि खोप नदिँदा केही समय अभियान रोकिएको थियो ।
सरकारले आगामी चैतसम्ममा लक्षित सबैलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ । सोही आधारमा देशभर तोकिएका खोप केन्द्रमार्फत खोप लगाउने काम भइरहेको छ ।
सरकारले अहिलेसम्म कोभिशिल्ड, भेरोसेल, एस्ट्राजेनिका, जोनसन एण्ड जोनसन गरेर चार प्रकारका खोप लगाइरहेको छ ।