जनकपुरधाम, १३ मंसिर । सप्ताहव्यापी रुपमा मनाईने विश्व प्रसिद्ध रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी तीव्र गतिमा चलिरहेको अवस्थामा नगरक्षेत्र भने दुर्गन्धित बनेको छ ।

मंसिर शुक्ल पञ्चमीका दिन त्रेतायुगमा भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनास्वरुप परापूर्वकालदेखि नै यहाँ धुमधामसँग विवाहपञ्चमी महोत्वस मनाउने गरिन्छ ।

त्रेतायुगमा मर्यादा पुरुषोतम श्रीराम र आर्दशनारी सीताबीच भएको विवाहको स्मरणमा प्रत्यक वर्ष मंसीर शुक्ल पञ्चमी तिथिका दिन मिथिला नगरी जनकपुरधाममा विवाह महोत्सव आयोजना गरिन्छ ।

यस बर्ष सप्ताहव्यापी कार्यक्रमअन्तर्गत १७ गते जनकपुरधाम नगर दर्शन, १८ गते फुलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंवर तथा विवाह र २३ गते रामलेवा विधिको कार्यक्रम आयोजना गरिनेछ ।

जानकी मन्दिरले मूल समारोह समिति गठन गरी विवाहपञ्चमीको तयारी तीव्ररुपमा गरिरहँदा नगरक्षेत्र भने दुर्गन्धित बनेको छ । नगरभरि जताततै फोहोरका डंगुरहरु थुप्रिएपछि शहर नै कुरुप देखिएको हो ।

जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले भने,‘हामी यतिबेला विश्वप्रसिद्ध विवाहपञ्चमी महामहोत्सवको तयारी तीव्र पारेका छौं । एकातर्फ हाम्रो तयारी सुरु भएको छ भने अर्कोतर्फ नगरभित्र जताततै फोहोरका थुप्रोहरु देख्दा मन नै खिन्न बनेको छ ।’ उनले फोहोरको थुप्रोले विवाहपञ्चमीमा नकारात्मक सन्देश जाने भएकोले उपमहानगरलाई यसतर्फ गम्भीरतापूर्वक ध्यान दिन आग्रह समेत गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाले नगरको फोहोर व्यवस्थापनमा कुनै ध्यान केन्द्रीत नगरेको भन्दै वडाध्यक्षहरुले गत कार्तिक १४ गते नगरप्रमुख लालकिशोर साहलाई कालोमोसो दल्ने चेतावनी दिंदै उनको घरअगाडि फोहोर समेत फालेका थिए ।

नगरप्रमुख साहको घर अगाडी फोहोर थुपार्दै उपमहानगरमा अव्यवस्थित तरिकाले थुपारिएका फोहोर नउठ्दा नगर दुर्गन्धित भएको र यसतर्फ नगरप्रमुख साहले कुनै चासो नदेखाउँदा आफूहरु बाध्य भएर उनको घर अगाडि फोहोर थुपारेको वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साहले बताए ।

वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहले उपमहानगरलाई दुर्गन्धित बनाउने गरि थुपारिएका फोहोर व्यवस्थापनलाई मेयर साहले बेवास्ता गरे आफूहरु चाँडै उनलाई कालोमासो दल्ने चेतावनी दिए ।

वडा नम्बर–१ का वडाध्यक्ष शत्रुधन साह, वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साह, वडा नम्बर–४ का वडाध्यक्ष सुदर्शन सिंह र वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहलगायकाहरुले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडि धर्ना समेत दिएका थिए ।

नगरप्रमुख लालकिशोर साहले फोहोर व्यवस्थापनका लागि चासो नदेखाएको, आफूहरुलाई ट्याक्टरसमेत उपलब्ध नगराएको र जनताप्रति कुनै वास्ता नै नगरी भ्रष्टाचारमा मात्र केन्द्रित बनेको आरोप लगाउँदै वडाध्यक्षहरुले सोमबार काठमाडौं पुगेर समेत विरोध प्रदर्शन गरेका छन् । फोहोर उठाउन माग गर्दै उनीहरुले ६ मंसिरमा पनि मेयर साहको कार्यकक्षमा ताला लगाएका थिए ।

यता, स्थानीय प्रशासन र अभियन्ताहरुले विवाहपञ्चमीलाई लक्षित गरी सरसफाइ अभियान सुरु गर्ने योजना बनाएका छन् । उनीहरुले चाँडै आफूहरु मिलेर नगरक्षेत्र सफा गर्ने बताएका छन् । विवाहपञ्चमीलाई लक्षित गरी फोहोर उठाइने बताइएको छ ।

यस बर्ष विवाहपञ्चमीमा भारतको सिमावर्ती क्षेत्र र नेपालको विभिन्न स्थानबाट लाखौं श्रद्धालहरु सहभागि हुने अनुमान छ । रामजानकीको स्वयंवर, धनुष यज्ञ, वैवाहिक कार्यक्रममा सहभागि भई पुजाअर्चना गर्नाले पारिवारिक सुखशान्ति र हरेक दुःखबाट मुक्तिहुने जनविश्वास रहेको छ ।

मिथिला परम्पराअनुसार सात दिनसम्म विभिन्न विधि सम्पन्न गरी वैवाहिक कार्यक्रमको आयोजना हुने सातै दिनलाई रोचक र भव्य बनाउने तयारी भइरहेको छ ।