उपसभापति निधिले मनोमानी गरेको भन्दै पार्टी कार्यालयमा विरोध प्रदर्शन

जनकपुरधाम, १३ मंसिर । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले मनोमानी गरेको भन्दै असन्तुष्ट नेता कार्यकर्ताहरुले निधिविरुद्ध जनकपुरधामस्थित पार्टी कार्यालयमा विरोध प्रदर्शन गरेका छन् ।
धनुषाको क्षेत्र नम्बर–३ प्रतिनिधिसभा क्षेत्रिय अधिवेशनमा उपसभापति निधिले पार्टीको विधान र निर्वाचन प्रक्रिया विपरित अलोकतान्त्रिक तरिकाले पदाधिकारी घोषणा गरेको आरोप लगाउँदै कार्य समिति कार्यालयमा विरोध प्रदर्शन गरेका हुन ।
नेपाली काँग्रेसको जारी १४औं महाधिवेशनको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ को क्षेत्रिय अधिवेशनबाट उपसभापति निधिले आइतबार आफ्नो भाइ धिरेन्द्र निधिलाई क्षेत्रिय सभापति बनाउँदा पार्टीभित्रकै अन्य नेता कार्यकर्ताहरुले विरोध जनाएका हुन् ।
पार्टी उपसभापति निधिले तानाशाही प्रवृति देखाउँदै पदीय दम्भमा निर्वाचन प्रक्रिया विपरित उद्घाटन सत्रको मञ्चबाटै पदाधिकारी घोषणा गरेको नेता शम्भुनाथ झाले आरोप लगाए । उनले उपसभापति निधिले तानाशाहीमा गरेको प्रक्रिया आफूहरुलाई मान्य नरहेको र अधिवेशन खारेजी हुनुपर्ने माग गरे ।
असन्तुष्ट नेता कार्यकर्ताहरुले जिल्ला निर्वाचन र केन्द्रिय निर्वाचन कार्यालयमा धनुषा क्षेत्र नम्बर ३ को अधिवेशन खारेजीको माग गर्दै निवेदन समेत पठाएका छन । उनीहरु जिल्ला निर्वाचन कार्यालयमा निवेदन दर्ता गराउन जाँदा त्यहाँ कोही नभेटाएपछि इमेलमार्फत निवेदन दर्ता गराएका हुन ।
पार्टीका नेता प्रवेश चौधरीले भने,‘क्षेत्र नम्बर ३ मा गरिएको पदाधिकारी चयनको गलत प्रक्रियाको हामीले विरोध गर्दै जिल्ला र केन्द्रिय निर्वाचन कार्यालयमा इमेलमार्फत निवेदन दर्ता गराएका छौं ।’
चौधरीले आजसम्म इतिहासमै नभएको काम उपसभापति निधिले गरेको आरोप लगाए । उनले उपसभापति निधिले आफ्नो मनोमानी हिसाबले मञ्चबाटै आफू अनुकूलका व्यक्तिको नाम घोषणा गरेको बताए ।