लुम्बिनीले यू–१९ राष्ट्रिय प्रतियोगितामा प्रदेश १ माथि सहज जित निकाल्यो

काठमाडौं, १३ मंसिर । तीव्र गतिका बलर मोहम्मद हुसैन र स्पिनर वासिर अहमदको उत्कृष्ट बलिङमा लुम्बिनी प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ माथि सहज जित हात पारेको थियो । लुम्बिनीले प्रदेश १ लाई ६ विकेटले हराउँदै शीर्षस्थानमा उक्लिएको छ । प्रदेश १ को पहिलो हार हो ।
१०७ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले २३.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीका विशाल विक्रम केसीले ३० बलमा ३ चौका सहित २६ रनमा आउट भए । आकाश त्रिपाठीले ३७ बलमा १ चौका सहित १३ रनमा आउट भए । कप्तान देव खनाल ३१ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २५ रनमा आउट भए । विराट भण्डारी १६ र वासिर अहमद १६ बलमा ३ चौका र १ छक्का सहित २४ रनमा अविजित रहे ।
प्रदेश १ का दीपेश कंडेलले २, लव कामत र गौरव कटवालले १–१ विकेट लिए । टियु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश १ ले ३७.२ ओभरमा १ सय ६ रनमा अल आउट भएको थियो । दीपक जोशी १८, गौरव कटवाल १९ र राकेश शाह १३ रनमा आउट भए ।तीव्र गतिका बलर मोहम्मद हुसैनले १० ओभरमा १ मेडन सहित ३१ रन खर्चेर ५ विकेट लिए । स्पिनर वासिर अहमदले ८.२ ओभरमा ४ मेडन सहित ९ रन खर्चेर ३ विकेट लिए । दुर्गेश गुप्ताले २ विकेट लिए ।
लुम्बिनी ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ शीर्षस्थानमा छ । लुम्बिनीले अन्तिम खेल बुधबार प्रदेश २ सँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा लुम्बिनी फाइनलमा पुग्नेछ । पराजित भएमा अन्य टोलीको नतिजा र नेटरनरेटमा निर्भर रहनेछ । प्रदेश एक ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ ।
प्रदेश १ ले बुधबार मुलपानी मैदानमा सुदूरपश्चिमसँग खेल्नेछ । प्रदेश १ ले बिहीबार कर्णालीसँग खेल्नेछ । प्रदेश दुई ३ खेलमा २ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।