जनकपुरधाम, १३ मंसिर । नेपाली कांग्रेस सर्लाहीको वडा अधिवेशनका क्रममा मन्त्रीका सुरक्षागार्डले हवाई फायर गरेको एक दिन नबित्दै सोमबार फेरी वडा अधिवेशनकै क्रममा झडप हुँदा मतदान अधिकृत सहित ५ जना घाइते भएका छन् ।

सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ बलरा नगरपालिका-८ मा वडाअधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झामाथी आक्रमण भएपछि प्रहरीसंगको झडपको क्रममा ५ जना घाइते भएका हुन् ।

वडा अधिवेशनको क्रममा मतदान अधिकृत झामाथी हातपात भएपछि रोक्ने क्रममा प्रहरीसंग झडप भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिए ।

झडपमा परेर जनता मावि फुलपरासीका मतदान अधिकृत झा सहित ३ जना प्रहरी र एक जना सर्वसाधारण घाइते भएको प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए ।

निर्वाचन अधिकृत झाको टाउकोमा चोट लागेको छ भने एक जना इन्सपेक्टरको हात भाँचिएको बताइएको छ ।

सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह पक्षधरले मतदान अधिकृतलाई घेराउ गर्न खोजेपछि उनलाई सुरक्षा दिन पुगेका बेला प्रहरीसँग झडप भएको नेपाली कांग्रेस सर्लाहीका सभापति नागेन्द्र रायले बताए ।

यस अघि सोही क्षेत्रमा आइतबार साँझ वडा अधिवेशनकै क्रममा प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहमाथी हातपात हुनुका साथै उनका सुरक्षागार्ड रामचन्द्र खंगले हवाई फायर गरेका थिए ।