धनुषामा श्रीमतीको हत्या गरी श्रीमान्ले गरे आत्महत्या
जनकपुरधाम, ०८ कार्तिक । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोप लागेका एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–४ भरतपुरका करिब ३५ वर्षीय उमेश यादवले आफ्नी ३० वर्षीया श्रीमती रिना यादव र चार वर्षीय छोरा सम्राट यादवमाथि धारिलो हतियार प्रहार गरेका थिए ।
प्रहरीका अनुसार उमेश शनिबार राति करिब ९ बजे मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वरस्थित ससुराली पुगेका थिए । उनले आइतबार बिहान करिब १ः५० बजे श्रीमती र छोरामाथि धारिलो हतियार प्रहार गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।

सूचनापछि इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेश कुमार शर्माको कमान्डमा खटिएको टोली घटनास्थल पुग्दा रिनाको घाँटीमा धारिलो हतियारले काटिएको चोट रहेको र उनी मृत अवस्थामा फेला परेकी थिइन् । बालक सम्राटको दाहिने तिघ्रामा काटिएको चोट लागेको थियो ।
घाइते बालकलाई स्थानीय क्लिनिकमा प्राथमिक उपचार गराएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ । प्रहरीका अनुसार बालकको अवस्था सामान्य रहेको छ ।
घटनास्थलबाट रगत लागेको चक्कुसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
घटनापछि फरार रहेका उमेशको खोजतलास गर्ने क्रममा घटनास्थलबाट करिब एक किलोमिटर पश्चिम मिथिला बिहारी नगरपालिका–२ मा सिर्सिया जाने बाटोको दक्षिणपट्टि आँपको रूखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

दुवै घटनास्थलको मुचुल्का तयार गर्ने प्रक्रिया अघि बढाइएको र मृतक महिलाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जनाएको छ ।
घटनाको कारण भने खुल्न बाँकी रहेको छ ।
प्रहरीले घटनासम्बन्धी थप विवरण संकलन गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




