सर्लाही, १२ मंसिर । प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहमाथि काँग्रेस कार्यकर्ताहरुले आक्रमण गरेका छन् ।

नेपाली काँग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत सर्लाहीको वडा अधिवेशनमा पुगेका मन्त्री सिंहमाथि आक्रमण गरिएको हो ।

सर्लाहीको बलरा नगरपालिका वडा नम्बर–९ को अधिवेशनमा पुगेका मन्त्री सिंहमाथि अधिवेशनमै सहभागी काँग्रेस कार्यकर्ताहरुले आक्रमण गरेका हुन् ।

अधिवेशन भइरहेको वडा काँग्रेस नेता अमरेशकुमार सिंहको गाउँ हो । आइतबार साँझ करिब ६ बजे घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

मन्त्रीमाथि आक्रमण भएपछि उनका सुरक्षागार्ड रामचन्द्र खंगले हवाई फायर गरेका थिए । सोही क्रममा सुरक्षागार्ड खंगमाथि पनि रड प्रहार गरिएको एसपी प्रसाईंले बताए ।

रड प्रहारबाट मन्त्री सिंहका सुरक्षागार्ड खंग र अर्का एक सहयोगी रामचन्द्र महतो घाइते भएका छन् । घाइते दुबैजनाको मलंगवास्थित जिल्ला अस्पतालमा उपचार भईरहेको बताइएको छ ।