प्रदेश २ लाई प्राथमिकता दिन माग गर्दै प्रभु साहद्वारा सचिवमा दावी

काठमाडौं, १२ मंसिर । नेकपा एमालेका नेता प्रभु साहले १०औं महाधिवेशनबाट आफूले सचिव पद पाउनुपर्ने दाबी गरेका छन् ।
सर्वसम्मत नेतृत्व चयनको गृहकार्य भइरहेका वेला साहले सचिवमा आफ्नो दाबी पेश गरेका हुन् ।
उनले केन्द्रीय पदाधिकारी र सदस्यमा प्रदेश २ लाई प्राथमिकता दिनसमेत माग गरेका छन् । ‘प्रभु साहले प्रदेश २ लाई प्राथमिकतामा राखेर केन्द्रीय कमिटी बनाउन जोड गर्नुभएको छ, सबैजसो प्रदेशबाट पदाधिकारी चयन हुने भए पनि प्रदेश २ बाट सम्भावना कम देखिएपछि पदाधिकारीमा प्रतिनिधित्व गराउनुपर्ने निवर्तमान अध्यक्ष केपी ओलीसँग माग राख्नुभएको छ,’ उनीनिकट एक नेताले भने ।
ती नेताका अनुसार एमाले केन्द्रीय कमिटीलाई समावेशी र समानुपातिक बनाउन पदाधिकारी, केन्द्रीय सदस्य, स्थायी कमिटी र पोलिटब्युरोमा मधेसी समुदायलाई प्रतिनिधित्व गराउनुपर्ने मागसमेत साहले ओलीसमक्ष राखेका छन् ।
माओवादी खेमाबाट आएका शीर्ष नेताहरूलाई पदाधिकारीदेखि नै समेटेमा मात्र कार्यकर्ता पंक्तिमा राम्रो सन्देश जाने विषयमा समेत ओलीको ध्यानाकर्षण गराएको ती नेताले जानकारी दिए ।
रामबहादुर थापालाई उपाध्यक्ष र टोपबहादुर रायमाझीलाई सचिव पद दिने लगभग पक्कापक्की भए पनि साहलाई भने मधेसी समुदायको तर्फबाट प्रतिनिधित्व गराउन सचिव दिनुपर्ने माग साह निकटका नेताहरूले गरिरहेका छन् ।