सर्लाही, १२ मंसिर । सर्लाहीमा दुई छोराछोरी सहित आमा घरमै मृत फेला परेकी छन् । जिल्लाको बरहथवा नगरपालिका वडा नम्बर–१ बस्ने शिव हजारीकी २६ वर्षीया पत्नी कविता हजारी, ६ वर्षीया छोरी सलोनी कुमारी र ४ वर्षीय छोरा स्वागत कुमार घरमै मृत भेटिएका हुन् ।

आइतवार बिहान आफ्नै घरमा आमा र छोराछारीको शव फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरिक्षक उमाशंकर यादवले जानकारी दिए ।

शनिवार साँझ विदेशमा रहेका पती शिवसँग कविताको फोनमा विवाद भएको थियो । कविता र शिवले भागी प्रेम विवाह गरेका थिए । सटरभित्रै तीनैजना मृत भेटिएको बरहथवाका मेयर देवानन्द मेहताले बताए ।

त्यस्तै सोही वडाका वडाध्यक्ष रत्न बहादुर गिरीका अनुसार राति कविताले सेवइको खीर बनाएर छोराछोरीलाई खुवाएर सुताएकी थिइन् । उनले भने, ‘सटरभित्रै किराना पसल रहेको छ । त्यहीभित्र उनीहरु बस्ने खाने गरेका थिए ।’

आमा कविता पासो लागेको अवस्थामा र छोराछोरी ओछयानमै मृत फेला परेका छन् । आइतवार बिहान कविता नउठेपछि छरछिमेकले खोजी गरेका थिए । घटनास्थलको मुचुल्का गरि तीनैजनाको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ ।

आमाले छोराछोरीलाई विष खुवाएर ज्यान लिएपछि आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।