जनकपुरधाम, १२ मंसिर । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको राजीनामा माग्दै वडाध्यक्षहरू काठमाडौं पुगेका छन् ।

विवाहपञ्चमी महोत्सव नजिकिरहँदासमेत नगरभित्रको फोहोर व्यवस्थापन गर्न मेयर साहले कुनै चासो नदेखाएको भन्दै वडाध्यक्षहरू उनको राजीनामा माग्दै काठमाडौं पुगेका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष दीपेन्द्र साह, ४ का सुदर्शन सिंह, ७ का जानकीराम साह, ९ का परमेश्वर साहलगायत २९ जना जनप्रतिनिधिहरूको टोली काठमाडौं पुगेर मेयरविरुद्ध प्रदर्शन समेत गर्ने भएका छन् ।

आफूहरुले आज सामान्य प्रशासन मन्त्रालयमा ज्ञापन पत्र बुझाएर माइतीघरमा प्रदर्शन गर्ने तयारी गरेको वडा नम्बर–४ का वडाध्यक्ष सुदर्शन सिंहले बताए । उनले चुनावका बेला मेयर साहले सरसफाइको मुद्दालाई प्राथमिकतामा राखेपनि चुनाव जितेपछि त्यसतर्फ कुनै ध्यान नदिएको आरोप लगाए ।

फोहोर व्यवस्थापनका लागि अहिलेसम्म कुनै पहल नभएको वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र साहले बताए । उनले भने,‘हामी नगरमा दबाब दिएर थाकिसक्यौँ । सफा गर्छाैँ भनेर आश्वासन मात्रै पाइयो, काम हुन नसकेपछि मेयर साहको राजीनामा माग्दै काठमाडौं आएका हौँ ।’

सुरुकै बर्षदेखि वडाध्यक्षहरुले मेयर साहलाई नगरको सरसफाइका लागि ट्याक्टर खरिद गर्न आग्रह गरेपनि उनले कुनै चासो नदेखाएको वडाध्यक्ष साहको आरोप छ । उपमहानगरसँग सम्पूर्ण स्रोत साधनको व्यवस्था भएपनि मेयर साहले सरसफाइका लागि उपलब्ध नगराएको उनले दुःखेसो सुनाए ।

उनीहरूले केहीदिनअघि मेयर साहको कार्यकक्षमा तालाबन्दीसमेत गरेका थिए ।

लामो समयदेखि नगरभित्रको फोहोर व्यवस्थापन हुन नसक्दा जनकपुरधाम कुरूप र दुर्गन्धित बन्दै गएको छ ।