जनकपुरधाम, १२ मंसिर । प्रदेश २ मा असहायका लागि स्थापना गरिएको कोषबाट प्रदेश प्रमुखकी पत्नीलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

प्रदेश सरकारले असहाय, विपन्न वर्ग, अशक्त तथा गम्भीर प्रकृतिका रोगीलाई सहायता प्रदान गर्न स्थापना गरेको मुख्यमन्त्री कोषबाट प्रदेश प्रमुख हरिशंकर मिश्रकी पत्नी उषा मिश्रलाई आर्थिक सहयोग उपलब्ध गराएको हो ।

प्रदेश सरकारले आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धि बनाइएको निर्देशिका, २०७६ लाई मिच्दै मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरेर उनलाई स्वास्थ्योपचारको नाममा ५ लाख रुपैयाँ सहयोग गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रदेश प्रमुखलाई चाहिने आवश्यक सेवासुविधा सरकारले उपलब्ध गराउँदासमेत उनले आफ्नो पत्नीलाई आर्थिक सहयोगका लागि निवेदन दिन लगाएर कार्यविधिमा दिनै नमिल्ने आर्थिक सहायता सरकारसँग लिएका छन् ।

सयौं वास्तविक विपन्नले आर्थिक सहायताका लागि निवेदन दिएपनि उनीहरुप्रति सरकारले कुनै चासो नदेखाएको स्रोतको दावी छ ।

सरकारले बनाएको कार्यविधिमा प्रदेशभित्रका असहाय, विपन्न वर्ग, अशक्त तथा गम्भीर प्रकृतिका रोगीलाई निजको जीवनयापन तथा औषधोपचारका लागि प्रदेश सरकारले सहयोगस्वरूप २५ हजारदेखि ३ लाख रुपैयाँसम्म मात्र आर्थिक सहायता प्रदान गर्न सकिने उल्लेख छ।

असहाय प्रकृतिका व्यक्तिलाई प्रतिव्यक्ति २५ हजारदेखि १ लाखसम्म, विपन्न वर्गका व्यक्तिलाई २५ हजारदेखि ५० हजारसम्म, अशक्त व्यक्तिलाई ५० हजारदेखि २ लाखसम्म र गम्भीर प्रकृतिका रोगीलाई बढीमा ३ लाखसम्म प्रदान गर्न सकिने कार्यविधिमा उल्लेख छ ।

प्रदेश सरकारले यसअघि समेत कार्यविधिको कुनै खयाल नै नगरी पूर्वमन्त्री, प्रदेशसभा सदस्य र नेता तथा मन्त्रीहरुको निकटस्थ व्यक्तिलाई आफूखुशी आर्थिक सहायता उपलब्ध गराएपछि आलोचना भएको थियो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशका तत्कालीन पूर्वभौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डिम्पल झा तथा केही सांसदहरूलाई स्वास्थोपचारको नाममा पटक-पटक गरी ५० लाख भन्दाबढी रकम उपलब्ध गराएको थियो।

यसपटक फेरि पनि कार्यविधि मिचेर प्रदेश प्रमुखकी पत्नीलाई सरकारले किन आर्थिक सहायता उपलब्ध गराएकोबारे प्रश्न गर्दा प्रदेश सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र साहले कुनै प्रतिक्रिया दिन मानेनन् ।