एमाले महाधिवेशनलाई प्रचण्डले दिए कुम्भमेलाको संज्ञा

काठमाडौं, ११ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको १०औं महाधिवेशनलाई कुम्भमेलाको संज्ञा दिएका छन् ।
पार्टीको ७५३ पालिका सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेको महाधिवेशनमा विचारलाई निषेध गरिएको टिप्पणी गरे ।
उनले भने, ‘तपाईंहरूले देख्नु नै भएको छ कुम्भमेलामा विचारलाई कुनै महत्त्व नै छैन । यसरी पनि महाधिवेशन हुने रहेछ । हाम्रो राष्ट्रिय सम्मेलन अरू पार्टीको महाधिवेशनसँग तुलना नै हुन सक्दैन ।’
माओवादी केन्द्रको पालिका सम्मेलनको तयारी र पार्टीको पूर्वनिर्धारित कार्यक्रममा जानुपर्ने भएकाले प्रचण्ड एमालेको चितवनमा सुरु भएको महाधिवेशनमा शुभकामना गर्न गएका थिएनन् ।
माओवादी केन्द्रबाट नेता लीलामणि पोखरेलले एमालेको महाधिवेशनलाई सम्बोधन गर्दै शुभकामना दिएका थिए ।