सर्लाही, ११ मंसिर । नेपाली काँग्रेस सर्लाहीको वडा अधिवेशन आइतबारका लागि तोकिएको छ । शुक्रबार राति अबेरसम्म चलेको पार्टीका दुवै पक्षको छलफलले आइतबारका लागि वडा अधिवेशनको मिति तोकेको हो ।

निर्वाचन अधिकृतको रूपमा सर्लाही आइपुगेका अधिवक्ता भरत राउतको रोहबरमा जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्वजिल्ला सभापति लक्ष्मण राय समूहबीच छलफल चलेको थियो ।

लालबन्दीस्थित युनाइटेड होटल इनमा दिउँसोदेखि राति पौने १० बजेसम्म चलेको छलफलले यस्तो सहमति गरेको हो । कांग्रेस सर्लाहीमा संस्थापन पक्ष र संस्थापनइतरबीच यो तेस्रोपटक सहमति भएको हो ।

दुवै पक्षबीच भएको छलफलबाट १२ मंसिरमा वडा अधिवेशन, प्रदेशस्तरीय अधिवेशन सरेमा १४ गते पालिका अधिवेशन र प्रदेश अधिवेशन नसरेमा सोही दिन पालिकास्तरीय अधिवेशन स्थगित गरी प्रदेश सभास्तरीय अधिवेशन गर्ने सहमति भएको छ ।

छलफलले १५ गते क्षेत्रीय अधिवेशन र १७ गते शुक्रबार जिल्ला अधिवेशन गर्नेसमेत सहमति गरेको निर्वाचन अधिकृत राउतले जानकारी दिए । निर्वाचन अधिकृत राउतका अनुसार मतदान अधिकृतको रूपमा खटिने शिक्षकहरूलाई शनिबार तालिम दिने तथा निर्वाचन सामग्री उपलब्ध गराइने छ ।

जिल्लाका अधिकांश वडामा काठमाडौंमा भएको छलफलबाटै मतदान अधिकृत खटाइएको र केही वडामा आज गोलाप्रथा विधिबाट खटाइने उनले बताए ।