कोरोनाको नयाँ भेरियन्टको नाम ‘अमिक्रोन’

एजेन्सी, ११ मंसिर । विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)ले कोरोना भाइरसको नयाँ भेरियन्टलाई ‘अमिक्रोन’ नाम दिएको छ ।
भेरियन्टलाई लिएर डब्ल्युएचओले चिन्ता पनि व्यक्त गरेको छ । डब्ल्युएचओले चेतावनी दिँदै अम्रिकोन भेरियन्ट तीव्र गतिमा र धेरै संख्यामा म्युटेन्ट हुनेवाला भेरियन्ट भएको बताएको छ ।
नयाँ भेरियन्ट दक्षिण अफ्रिकाका २४ नोभेम्बरमा भेटिएको थियो । यसको साथै बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा पनि यस भेरियन्टको पुष्टि भइसकेको छ।
अमिक्रोन भेरियन्ट भेटिएसँगै विश्वका धेरै देशले दक्षिण अफ्रिकामा आवातजावत गर्न प्रतिबन्ध लगाएका छन् । बेलायत, अमेरिका, भारत लगायतका देशहरूले प्रतिबन्ध लगाइसकेका छन् ।
शुक्रबार डब्ल्युएचओले दक्षिण अफ्रिकाका सबै प्रान्तमा यस भेरियन्टका केस बढिरहेको बताएको छ । सुरुमा यस भेरियन्टलाई बी.१.१.५२९ नाम दिइएको थियो।
‘संयुक्त राष्ट्रको स्वास्थ्य निकायले एक बयानमा यो भेरियन्ट निकै तीव्र गतिले म्युटेन्ट भइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
डब्ल्युएचओले नयाँ भेरियन्टको प्रभाव बुझ्न केही समय लाग्ने जनाएको छ । बेलायतका एक शीर्ष स्वास्थ्य अधिकारीले चेतावनी दिँदै नयाँ भेरियन्ट विरुद्ध खोपको प्रभाव कम हुने बताए ।