काँग्रेस महाधिवेशन: धनुषाको १ (ख) मा देउवा पक्षका ऋषिकेश लामा निर्वाचित

जनकपुरधाम, १० मंसिर । नेपाली काँग्रेस धनुषाको प्रदेश सभा क्षेत्रिय अधिवेशन अन्तर्गत क्षेत्र नम्बर १ (ख) को सभापतिमा देउवा पक्षका ऋषिकेश लामा निर्वाचित भएका छन् ।
विगत दुई दिनदेखि सहमति जुटाउने प्रयास गरिएपनि सहमति नजुट्ता अन्ततः निर्वाचनबाटै नेतृत्व चयन गरिएको हो । बिहीवा अबेर राति सम्पन्न मतदानबाट लामा २५७ मत ल्याएर निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी मदन यादवले ५७ ल्याएका छन् ।
लामा देउवा पक्षका पुर्व सांसद आनन्द प्रसाद ढुंगानाको तर्फबाट उम्मेदवार बनेका थिए भने मदन यादवले उपसभापति विमलेन्द्र निधिको पक्षबाट उम्मेदवारी दिएका थिए । यसअघि क्षेत्र नम्बर १ (क) मा जगतसुन्दर साह निर्वाचित भएका थिए ।
धनुषामा क्षेत्र नम्बर १ (क) बाहेक क्षेत्र नम्बर ४ (ख) मा पनि निर्विरोध नेतृत्व चयन गरिएको छ । सो क्षेत्रबाट बासुदेव पौडेल निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत अरूणकुमार ज्ञवालीले जानकारी दिए ।
दुई क्षेत्रमा आपसी सहमति अनुसार निर्विरोध नेतृत्व चयन गरिएको छ भने क्षेत्र नम्बर ३ को (क) र (ख) दुवैमा सहमति जुटाउने प्रयास जारी रहेको बताइएको छ । त्यस्तै, क्षेत्र नम्बर २ को (क) र (ख) तथा ४ को (ख) मा पनि मतदानबाट नेतृत्व चयन गरिने सम्भावना रहेको जिल्ला सचिव सन्तोष यादवले बताए ।