जनकपुरधाम, १० मंसिर । धनुषामा बालुवा लोड गरेको ट्याक्टरको इन्जिनले च्यापिएर चालकको मृत्यु भएको छ ।

शुक्रबार बिहान धनुषाको मिथिला नगरपालिका वडा नम्बर–७ बस्ने २५ बर्षिय चालक चेतन महतोको मृत्यु भएको हो ।

नक्टाझिजमा ज १ त ४१७२ नम्बरको ट्याक्टरले बालुवा अनलोड गर्ने क्रममा इन्जिन माथि उठेर चालक महतो च्यापिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

महतोको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्घान भइरहेको प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।